कम्बोडियामा अवैध रूपमा बसोबास तथा गैरकानुनी गतिविधिमा संलग्न गराइएका २० जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावास र कम्बोडिया सरकारको समन्वयमा उनीहरूलाई उद्धार गरी आज नेपाल ल्याइएको हो।
दूतावासका अनुसार विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका ‘अनलाइन स्क्यामिङ’ केन्द्र तथा क्यासिनोहरूमा काम गर्न बाध्य बनाइएको थियो। उनीहरूलाई अनलाइन ठगीसँगै अन्य गैरकानुनी गतिविधिमा समेत संलग्न गराइएको जनाइएको छ।
कम्बोडियामा केही नेपाली नागरिक बिना भिसा वा भिसाको म्याद सकिएपछि पनि बसिरहेको तथा गैरकानुनी काममा प्रयोग भइरहेको सूचना प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ। साथै, स्क्यामिङ केन्द्रहरूमा काम गराइएका व्यक्तिहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने गरेको गुनासो पनि धेरैले गरेका छन्।
दूतावासले विदेशमा रोजगारीका नाममा हुने ठगीबाट सतर्क रहन सबैलाई आग्रह गर्दै यस्ता घटनामा नपर्न सचेतना आवश्यक रहेको जनाएको छ।
