अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल पराजित भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँरसँग ५२६ मतान्तरले पराजित भएका हुन्।
निर्वाचन आयोगका अनुसार स्वाँरले कुल १० हजार ७५९ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रावलले १० हजार २३३ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद ७ हजार ३८९ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत प्राप्त गरेका छन्।
अछाम–१ मा मुख्य प्रतिस्पर्धा कांग्रेस र कम्युनिस्ट पार्टीका उम्मेदवारबीच देखिएको थियो। अन्ततः मतगणनाको अन्तिम परिणाममा कांग्रेसका स्वाँरले रावललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। रावल एक सक्षम कम्युनिस्ट नेतामध्ये पर्छन्।
