काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गर्दै संसदमा दुई तिहाई (१८४) को सिट नजिक पुग्ने संकेत देखिएको छ। अहिले सम्म प्राप्त मत परिणामका आधारमा रास्वपाले प्रतिनिधिसभामा ठूलो उपस्थिति जनाउने सम्भावना देखिएको छ।
समाचार तयार पार्दासम्मको विवरणअनुसार रास्वपाले ४७ निर्वाचन क्षेत्रमा जीत हासिल गरिसकेको छ भने ७२ क्षेत्रमा अग्रता लिएको छ। समानुपातिकतर्फ पनि पार्टीले उल्लेखनीय मत प्राप्त गरिरहेको छ। हालसम्म रास्वपाले करिब १ लाख ३० हजार मत प्राप्त गरिसकेको प्रारम्भिक विवरणमा उल्लेख छ।
मुख्य राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले भने दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धामा देखिएका छन्। कांग्रेसले हालसम्म ७ स्थानमा जीत हासिल गरेको छ भने ११ क्षेत्रमा अग्रता कायम गरेको छ। समानुपातिकतर्फ कांग्रेसले करिब ३९ हजार मत प्राप्त गरेको छ।
त्यसैगरी नेकपा एमालेले २ स्थानमा जीत हासिल गरेको छ भने ९ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। एमालेले समानुपातिकतर्फ करिब २८ हजार मत प्राप्त गरेको छ।
यस्तै नेकपाले २ स्थानमा जीत हासिल गरेको छ भने ७ क्षेत्रमा अग्रता लिएको छ। उसले समानुपातिकतर्फ करिब ११ हजार मत प्राप्त गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ क्षेत्रमा अग्रता लिएको छ भने समानुपातिकतर्फ करिब ११ हजार मत प्राप्त गरेको छ। श्रम संस्कृत पार्टीले ४ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने समानुपातिकतर्फ करिब ६ हजार मत प्राप्त गरेको छ।
हालसम्मको मत परिणाम हेर्दा नयाँ राजनीतिक शक्तिको रूपमा उभिएको रास्वपाले चुनावी प्रतिस्पर्धामा स्पष्ट बढत बनाएको देखिएको छ। समानुपातिकतर्फको मत परिणाम पनि रास्वपाको पक्षमा बलियो देखिएकाले संसदमा उसको उल्लेखनीय उपस्थिति रहने विश्लेषण गर्न थालिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि यही प्रवृत्ति अन्तिम परिणामसम्म कायम रह्यो भने रास्वपा बाहेकका केही दललाई समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड कटाउन समेत कठिन हुन सक्ने देखिन्छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।
