३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन र विध्वंसबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
आयोगका एक पदाधिकारीका अनुसार प्रतिवेदनको अन्तिम तयारी भइरहेको छ र यस विषयमा प्रधानमन्त्रीसँग समय मिलाउने प्रयास पनि भइरहेको छ। प्रतिवेदनमाथि अन्तिम छलफल गर्न आयोगका पदाधिकारीहरू सिंहदरबारस्थित कार्यालयमा बैठकमा जुटेका छन्।
“प्रतिवेदन लेखन सकिएको छ, अहिले रुजु गर्ने काम भइरहेको छ। आजै सबै प्रक्रिया पूरा गरेर बुझाउने तयारीमा छौं,” आयोगका एक पदाधिकारीले भने, “प्रधानमन्त्रीसँग समय माग गरेका छौं, उपलब्ध भएलगत्तै प्रतिवेदन बुझाउनेछौं।”
सरकारले ५ असोजमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्यका रूपमा छन्।
आयोगले सुरुमा २१ फागुनमा भएको निर्वाचनअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको थियो। तर निर्वाचनका बेला सुरक्षा जोखिम हुनसक्ने आँकलन गर्दै सरकारले आयोगको म्याद थप गरेको थियो।
सुरुमा तीन महिनाको कार्यादेशसहित गठन गरिएको आयोगको समय पटक–पटक थप गरिएको थियो। पछिल्लोपटक थपिएको समय आइतबार सकिने भएकाले त्यसअघि नै प्रतिवेदन बुझाउने तयारी गरिएको आयोगका पदाधिकारीहरूले बताएका छन्।
