मध्यपूर्व क्षेत्रमा इरानसँगको युद्ध चर्किँदै जाँदा त्यहाँ रहेका तीन हजारभन्दा बढी न्युजिल्याण्डवासीको सुरक्षालाई लिएर चिन्ता बढेको छ। न्युजिल्याण्ड सरकारका अनुसार हालसम्म उक्त क्षेत्रमा कम्तीमा ३ हजार १७१ जना न्युजिल्याण्डवासी सेफ ट्राभल सेवामा दर्ता भएका छन्।
अमेरिका र इजरायलले करिब एक सातादेखि इरानमाथि हवाई आक्रमण जारी राखेका छन् भने त्यसको प्रत्युत्तरमा इरानले पनि मध्यपूर्वका विभिन्न स्थानमा रहेका अमेरिकी तथा इजरायली सैन्य आधारहरूमा आक्रमण गरिरहेको छ। यसका कारण क्षेत्रीय तनाव थप बढ्दै गएको छ।
युद्धको अवस्थाका कारण मध्यपूर्वका धेरै देशहरूका लागि यात्रा चेतावनी जारी गरिएको छ भने धेरै अन्तर्राष्ट्रिय उडानहरू समेत प्रभावित भएका छन्। उडानहरू सीमित भएपछि त्यहाँ रहेका विदेशी नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम थप चुनौतीपूर्ण बनेको छ।
न्युजिल्याण्डको विदेश तथा व्यापार मन्त्रालयका अनुसार सेफ ट्राभलमा दर्ता भएका न्युजिल्याण्डवासीमध्ये १,८९३ जना संयुक्त अरब इमिरेट्स ९यूएई० मा रहेका छन्। त्यस्तै ४११ जना कतार, ४०१ जना साउदी अरेबिया, १२० जना इजिप्ट, ४२ जना जोर्डन, ७२ जना कुवेत, ५५ जना बहराइन, ३० जना इरान, १२ जना इराक, ८३ जना इजरायल तथा कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा, ३८ जना ओमान र १४ जना लेबननमा रहेका छन्।
मन्त्रालयले भने सेफ ट्राभलमा दर्ता नभएका न्युजिल्याण्डवासी पनि हुन सक्ने भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरेको छ।
यसैबीच न्युजिल्याण्डकी रक्षा मन्त्री जुडिथ कोलिन्स ले केही दिनभित्र न्युजिल्याण्ड रक्षा बल एनजेडडिएफका दुई विमान मध्यपूर्वतर्फ पठाइने जानकारी दिएकी छन्। ती विमानहरू सम्भावित उद्धार कार्यका लागि तयारी अवस्थामा राखिने बताइएको छ।
उनका अनुसार सुरक्षा कारणले ती विमानहरू कहाँ पठाइने भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर आवश्यक परेमा मध्यपूर्वमा रहेका न्युजिल्याण्डवासीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिने सरकारको योजना छ।
सरकारले सबैलाई सिधै न्युजिल्याण्ड फर्काउने योजना नभएको पनि स्पष्ट पारेको छ। प्रभावित क्षेत्रबाट सुरक्षित देशमा पुर्याएर त्यहाँबाट व्यावसायिक उडानमार्फत उनीहरूलाई आफ्नो गन्तव्यतर्फ जान सहयोग गरिने बताइएको छ।
सरकारले मध्यपूर्वमा रहेका सबै न्युजिल्याण्डवासीलाई सम्भावित उद्धार कार्यका लागि तयारीस्वरूप सेफ ट्राभल सेवामा दर्ता गर्न आग्रह गरेको छ।
