प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन–३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी विद्यालय शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले नयाँ र पुराना भन्ने बहसभन्दा सही र गलत छुट्याएर निर्णय गर्नुपर्ने बताएका छन्।
उनले दलहरूको योजना, कार्यक्रम, राष्ट्र र लोकतन्त्रप्रतिको प्रतिबद्धताको आधारमा मूल्यांकन हुनुपर्ने धारणा राखे। “नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन। सही र गलत छुट्याएर विवेकपूर्ण निर्णय गर्नुपर्छ,” उनले भने। प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार भए पनि उनको मतदाता नामावली चितवनमा रहेकाले त्यहीँबाट मतदान गरेका हुन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ अन्तर्गत बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। मतदानपछि उनले जनताले विश्वास गरेर आफ्नो दलले विजय हासिल गर्ने दाबी गरे। केही स्थानमा अवाञ्छित गतिविधिको सूचना आएको उल्लेख गर्दै उनले समग्र अवस्था शान्तिपूर्ण रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं–३ स्थित महांकालचौर मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी चितवन–२ बाट उम्मेदवार रहेकाले आफूलाई भने मतदान गर्न पाउँदैनन्।
यता नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार भए पनि काठमाडौं–४ का मतदाता हुन्। उनले काठमाडौंबाट मतदान गर्नेछन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार भए पनि भक्तपुर–२ बाट मतदान गर्दैछन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङका मतदाता भए पनि सप्तरी–३ बाट उम्मेदवार छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने झापा–३ बाट उम्मेदवार र सोही क्षेत्रका मतदाता भएकाले आफूलाई नै मतदान गर्ने भएका छन्। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि आफ्नै निर्वाचन क्षेत्र सप्तरी–२ बाट मतदान गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ बाट उम्मेदवार रहँदै गौर नगरपालिका–२ स्थित मतदान केन्द्रबाट मत हाल्दैछन्।
देशभरका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ। मतदाताले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन्।
