पश्चिम एसियामा विकसित हुँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको विवरण संकलन गर्न सुरु गरिएको अनलाइन दर्ता प्रणालीमा एकैदिन करिब १६ हजार जनाले आफ्नो नाम दर्ता गराएका छन्।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग ले मंगलबारदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याउँदै पश्चिम एसियामा रहेका नेपालीलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गर्न अनुरोध गरेको थियो। मन्त्रालयका अनुसार प्रणाली सञ्चालनमा आएको पहिलो दिनमै उल्लेख्य संख्यामा दर्ता भएको हो।

मन्त्रालयद्वारा जारी सूचनामा दर्ता प्रणालीलाई थप सरल, सहज र सर्वसुलभ बनाउँदै व्यापक पहुँच सुनिश्चित गरिने उल्लेख गरिएको छ। यसका लागि सम्बन्धित नियोगहरूलाई त्यहाँ रहेका नेपाली संघसंस्था, समुदाय तथा गैरआवासीय नेपाली संघसँग समन्वय गरी सूचना प्रवाह प्रभावकारी बनाउन निर्देशन दिइएको छ।

प्राप्त विवरणका आधारमा आवश्यक सहयोगको प्रकृति, प्राथमिकता र सम्भावित उद्धार योजना तय गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आपतकालीन अवस्थामा शीघ्र सम्पर्क, राहत तथा आवश्यक परेमा उद्धार व्यवस्थापनका लागि यथार्थ तथ्यांक आवश्यक हुने भएकाले दर्ता अभियानलाई तीव्रता दिइएको हो।

यसबीच इजरायल, अमेरिका र इरानबीच हवाई आक्रमणको क्रम जारी रहेकाले पश्चिम एसियाली क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएको छ। इरानले विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि क्षेप्यास्त्र प्रहार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस परिस्थितिले उक्त क्षेत्रमा कार्यरत तथा बसोबास गरिरहेका करिब १७ लाखभन्दा बढी नेपालीको सुरक्षाबारे चासो बढाएको छ।

सरकारले समग्र अवस्थाको निगरानी र समन्वयका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा आपतकालीन प्रतिक्रिया समूह गठन गरेको छ। बुधबार बसेको समूहको बैठकले दर्ता प्रणालीलाई प्रभावकारी बनाउने, कूटनीतिक नियोगमार्फत निरन्तर जानकारी संकलन गर्ने तथा आवश्यक परेमा उद्धार तयारी अघि बढाउने निर्णय गरेको जनाइएको छ।

मन्त्रालयले पश्चिम एसियामा रहेका सबै नेपालीलाई संयमित रहन, आधिकारिक सूचनामात्र अनुसरण गर्न तथा अनलाइन प्रणालीमार्फत आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।