न्युजिल्याण्ड सरकारले आगामी अप्रिल २० पछि ओपन भिसा भएका प्रवासी कामदारले आफू योग्य हुने जुनसुकै क्षेत्रमा गएर काम गर्न पाउने व्यवस्था कायम रहने जनाएको छ। सामान्यतया खुला कार्य भिसाले रोजगारीको प्रस्ताव नचाहिने गरी प्रायः सबै क्षेत्र, स्थान र रोजगारदातासँग काम गर्ने अनुमति प्रदान गर्दछ।

न्युजिल्याण्ड आप्रवासनका अनुसार आगामी २० अप्रिलदेखि ओपन वर्क भिसा भएकाहरूलाई दुई प्रकारका नयाँ रोजगारी सर्त लागू गरिने भएको छ।

पहिलो सर्तअनुसार अध्ययनपछिको कार्य भिसा तथा विभिन्न साझेदार भिसाधारकहरूलाई रोजगारदातासँग काम गर्न वा स्व–रोजगारमा संलग्न हुन अनुमति दिइनेछ। यसमा एकल व्यापारीका रूपमा काम गर्ने वा आफ्नै व्यवसाय स्थापना गरी सञ्चालन गर्ने अधिकारसमेत समावेश हुनेछ।

दोस्रो सर्तअनुसार घरेलु हिंसा पीडित कार्य भिसा, आप्रवासी शोषण संरक्षण कार्य भिसा र शरणार्थी आवेदक कार्य भिसाधारकले भने अनिवार्य रूपमा रोजगारदाताकै लागि काम गर्नुपर्नेछ। उनीहरूले रोजगारी सम्झौता वा सेवा करारअन्तर्गत मात्र काम गर्न पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार खुला कार्य भिसाधारकहरूले आफूले स्वामित्व वा सञ्चालन गरेको व्यवसायमार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्य व्यक्तिलाई रोजगारी दिन नपाउने स्पष्ट पारिएको छ।

न्युजिल्याण्ड आप्रवासनका भिसा निर्देशक पिटर एल्म्सले क्षेत्रबाट प्राप्त सुझावका आधारमा परिवर्तन गरिएको बताए। उनका अनुसार यसले भिसाधारक र आप्रवासन सल्लाहकारबीच देखिएको अन्योल हटाउने तथा अनजानमै कानुन उल्लंघन हुने जोखिम घटाउने उद्देश्य राखिएको छ।

उनले सर्तहरू अद्यावधिक र एकरूप बनाइँदा भिसाधारकले आफ्नो कामसम्बन्धी अधिकार र दायित्व स्पष्ट रूपमा बुझ्न सक्ने बताए।

आप्रवासन कानुन व्यवसायीहरूले यस परिवर्तनलाई स्वागत गरेका छन्। न्युजिल्याण्ड आप्रवासन साझेदार संस्थाका प्रमुख कार्यकारी अधिकृत डेभिड कुपरले नयाँ निर्देशनले विगतदेखि रहँदै आएको अस्पष्टता अन्त्य गर्ने बताए।

उनका अनुसार खुला कार्य भिसाधारकलाई स्व–रोजगार अनुमति छ कि छैन भन्ने विषय स्पष्ट नभएकाले अन्योल सिर्जना भएको थियो। अब योग्य भिसाधारकले वैधानिक रूपमा आफ्नै सानो व्यवसाय सञ्चालन गर्न सक्नेछन्।

अकल्याण्डस्थित क्विन सिटी कानुन संस्थाका आप्रवासन अधिवक्ता सोनी लामले स्पष्ट मार्गदर्शनले गैर–स्थायी कामदार भर्नामा सामान्य वृद्धि हुन सक्ने बताए। उनका अनुसार बारम्बार नियम परिवर्तन हुँदा रोजगारदातामा अन्योल बढेको थियो।

एम्स ग्लोबलकी प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ इजाजतप्राप्त आप्रवासन सल्लाहकार अरुणिमा धिङ्ग्राले ‘खुला’ शब्दको अर्थबारे पछिल्ला वर्षमा अन्योल बढेको बताइन्। उनले स्पष्ट नियमले कानुनी जोखिम घटाउने र पालना सुधार गर्ने विश्वास व्यक्त गरिन्।

ग्रीनस्टोन आप्रवासनका इजाजतप्राप्त सल्लाहकार डाफिड पारीले हाल कर्मचारी राखेर व्यवसाय सञ्चालन गरिरहेका केही खुला कार्य भिसाधारकलाई नयाँ नियमले असर पार्न सक्ने बताए। उनका अनुसार हालको भिसा अवधि समाप्त नभएसम्म अन्तरिम व्यवस्था लागू हुनेछ र त्यसपछि नयाँ सर्त कार्यान्वयन हुनेछ।

एल्म्सका अनुसार अस्थायी खुला कार्य भिसाको उद्देश्य दीर्घकालीन स्थायित्व संकेत गर्ने गतिविधिभन्दा फरक भएकाले अन्यलाई रोजगारी दिने अधिकारमा प्रतिबन्ध लगाइएको हो। “अरूलाई रोजगारी दिने व्यवसाय सञ्चालन गर्नु प्रायः स्थायी उपस्थिति संकेत गर्छ, जुन अस्थायी खुला कार्य भिसाको उद्देश्य होइन,” उनले भने।