न्युजिल्याण्ड भुटानी ओमकार ट्रस्टको आयोजनामा मंगलबार मनावटु क्षेत्रमा महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ। शिवरात्रिको एक दिनपछि मनाइएको कार्यक्रममा न्युजिल्याण्डमा रहेका नेपाली–भुटानी समुदायको उल्लेखनीय सहभागिता थियो।

ट्रस्टका अध्यक्ष बालकृष्ण घिमिरेको नेतृत्वमा सम्पन्न कार्यक्रममा न्युजिल्याण्ड भुटानी समाजका अध्यक्ष देवान तामाङ तथा मनावतु नेपाली समाजका अध्यक्ष डा. वीरेन्द्र केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उहाँहरूले प्रवासमा रहेर पनि धर्म, संस्कार र सांस्कृतिक पहिचानको संरक्षण गर्नु समुदायको साझा दायित्व भएको चर्चा गर्नुभयो।

कार्यक्रममा इन्दिरा भण्डारीले धर्म र संस्कृतिको महत्वबारे प्रकाश पार्दै महाशिवरात्रिको आध्यात्मिक सन्देशमाथि चर्चा गर्नुभयो। उहाँले भगवान शिवप्रतिको आस्था, संयम, त्याग र आत्मशुद्धिको मार्गलाई जीवनमा अपनाउनुपर्ने बताउनुभयो। प्रवासमा हुर्किँदै गरेका नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कारसँग जोडिराख्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो।

उत्सवका अवसरमा बालबालिका तथा वयस्कहरूले भजन–कीर्तन प्रस्तुत गरेका थिए। शिव आराधनाका भक्ति गीतहरूले वातावरणलाई अझ आध्यात्मिक बनाएको थियो। सहभागीहरूले संयुक्त रूपमा पूजाअर्चना, दीप प्रज्वलन तथा प्रसाद ग्रहण गरेका थिए।

आयोजक संस्थाका अध्यक्ष घिमिरेले समुदायलाई एकताबद्ध राख्दै सांस्कृतिक जरो सुदृढ बनाउन यस्ता धार्मिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले प्रवासमा बसे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्नु नै पहिचानको आधार भएको उल्लेख गर्नुभयो।

कार्यक्रम सुभाष र सीता अधिकारीको निवासमा सम्पन्न भएको थियो। उक्त आयोजनाले न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली–भुटानी समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक जागरणलाई थप बलियो बनाएको सहभागीहरूको भनाइ रहेको छ।

फोटो: बालकृष्ण घिमिरे