काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचन दुई चरणमा हुनसक्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्तिपछि अध्यक्ष ओलीले समय मागेपछि भेट भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार नवलपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचन दुई चरणमा हुनसक्ने संकेत गरेपछि अध्यक्ष ओलीले भेटको समय लिएका थिए। भेटमा अध्यक्ष ओलीले निर्वाचन एकै चरणमा हुनुपर्ने धारणा राख्दै दुई चरणमा हुने चुनाव आफूहरूलाई स्वीकार्य नहुने बताएका थिए। उनले तोकिएको मितिमा निर्वाचन सम्भव नभए अर्को उपयुक्त मितिमा सार्न सकिने सुझावसमेत दिएका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले सरकारको मनसाय दुई चरणमा निर्वाचन गर्ने नरहेको स्पष्ट पारेकी थिइन्। फागुन २१ गतेसम्म मौसम पनि अनुकूल हुँदै जाने विश्वास व्यक्त गर्दै निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुने बताएकी थिइन्।

प्रधानमन्त्री कार्कीले बिहीबार भक्तपुरमा पत्रकारहरूसँग कुरा गर्दै पनि निर्वाचन एकै दिन हुने दोहोर्‍याएकी थिइन्। आफूले अघि सारेका तयारीका कामहरू सकारात्मक रूपमा अघि बढिरहेको र मौसमले पनि साथ दिने विश्वास उनले व्यक्त गरिन्।

भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचनमा शान्ति सुरक्षाको ग्यारेन्टी आवश्यक रहेको विषय पनि उठाएका थिए। झापामा विगतका निर्वाचनहरू शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएको उल्लेख गर्दै उनले सरकारबाट सुरक्षाको पूर्ण प्रत्याभूति चाहिएको बताएका थिए। साथै, उनले आफू शुक्रबार चुनावी प्रचारका लागि झापा जाने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।