काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी प्राप्त उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ। बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले केही उम्मेदवारविरुद्ध आयोगमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको बताउनुभयो।

उहाँका अनुसार उजुरी परेका उम्मेदवारसँग स्पष्टिकरण मागिएको छ। केही उम्मेदवारबाट स्पष्टिकरण प्राप्त भइसकेको र बाँकी आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो। सबै स्पष्टिकरणको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उहाँको भनाइ छ। आचारसंहिता कडाइका साथ लागू गरिएको र त्यसको पालना भए–नभएको निरन्तर अनुगमन भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको बताउँदै सञ्चारमाध्यमलाई निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। उहाँले तोकिएको मिति र समयमै निर्वाचन हुने स्पष्ट पार्नुभयो।

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी रहेको आयोगले जनाएको छ। हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकसमा प्याकिङ भइसकेको छ। कुल २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ। यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।