संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ५४औँ राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । नेपाल सरकारको निरन्तर कूटनीतिक पहल र अनुरोधपछि विभिन्न कसुरमा जेलमा रहेका नेपालीहरूको आचरण, दैनिक चालचलन र सुधारको अवस्थालाई मूल्याङ्कन गर्दै उनीहरूलाई आममाफी दिइएको हो ।
नेपाली कैदीलाई आममाफी दिएकोप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त आममाफीलाई नेपाल–यूएईबीचको द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको सकारात्मक उदाहरणका रूपमा लिइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार निरन्तर कूटनीतिक पहल र अनुरोध गरेपछि यूएई सरकारले नेपाली कैदीहरूलाई आममाफी दिने निर्णय गरेको हो ।
आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्किन सक्ने मन्त्रालयले जनाएको छ ।
यसैबीच, यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहित र सुरक्षाका विषयमा नेपाल सरकारले कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।
