श्रीस्वस्थानी व्रतकथाको अन्तिम दिन आज अकल्यान्डमा ‘एकता भजन साँझ’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भजन–कीर्तन, सांस्कृतिक नृत्य तथा आध्यात्मिक प्रस्तुतिसहित आयोजना गरिएको उक्त कार्यक्रममा अक्ल्यान्ड, हेमिल्टन लगायत विभिन्न सहरबाट सयौँ नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

न्युजिल्यान्डमा पहिलोपटक यस किसिमको संगठित र सामुहिक भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको अक्ल्यान्ड भन्दा निकै टाढाबाट नेपालीहरु आएका थिए । अकल्यान्डको माउन्ट एडन स्थित सार्वजनीक पार्कमा युवामाझ लोकप्रिय सामाजिक संस्था हाम्रो एकताले गरेको कार्यक्रममा स्थानीयहरुले पनि चसो दिएर कार्यक्रमको प्रस्तुति हेरेका थिए ।
धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतनामार्फत विदेशको व्यस्त जीवनशैलीमा थप ऊर्जा, शान्ति र सकारात्मक सोच प्रदान गर्नु नै विशेष उद्धेश्य रहेको कार्यक्रममा शिव, कृष्ण र रामसँग सम्बन्धित विभिन्न भजन, श्लोक तथा धार्मिक गीत प्रस्तुत गरिएको थियो । भजन र संगीतले व्यस्त तथा तनावपूर्ण जीवनमा केही राहत पुग्ने र न्युजिल्यान्डमा हुर्कँदै गएका नयाँ नेपाली पुस्ताका नेपालीलाई आफ्नो धर्म, संस्कार र मौलिक संस्कृतिबारे जानकारी गराउने विश्वासका साथ भजन साझ कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सौरभ बस्नेतले जानकारी दिए ।
‘यस्ता कार्यक्रमहरुलाई हामी निरन्तरता दिँदै अघि बढ्ने छौं’ उनले भने, ‘हामीले कम्तीमा महिनामा एक दिन अकल्यान्डका विभिन्न पार्कहरूमा भजन–कीर्तन तथा ध्यान कार्यक्रम आयोजना गर्ने योजना बनाएका छौँ । यसले नेपाली समुदायलाई एकताबद्ध बनाउने मात्र होइन, मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्न मधत पुग्न सक्छ ।’ ‘हामी युवा हौँ, हामीले नै हाम्रो कला, संस्कृति र धर्म जोगाएनौँ भने कसले जोगाउँछ? यही सोचका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौँ’ उने थपे ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित न्युजिल्यान्डका लागि नेपाली अवैतनिक वाणिज्यदूत दिनेश खड्काले भजन–कीर्तन र ध्यानका कार्यक्रमले मानिसलाई मानसिक रूपमा धेरै ‘रिफ्रेस’ गराउने बताए । न्युजिल्यान्डमा नेपालीहरुको संख्या बढ्दै गएको सन्दर्भमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनु सम्पूर्ण नेपाली समुदायका लागि खुशीको विषय भएको उनको भनाइ थियो ।

खड्काले यस्ता कार्यक्रमलाई मानसिक स्वास्थ्य (मेन्टल हेल्थ) सँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘परदेशमा बस्दा मानसिक दबाब, एक्लोपन र तनाव सामान्य समस्या हुन् । भजन–कीर्तन, ध्यान र सामूहिक सहभागिताले ती समस्यालाई कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसलाई मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने कार्यक्रमका रूपमा लिनुपर्छ ।’

कार्यक्रममा भजन वाचन गर्ने युवा सुनिल वाग्लेले नेपालमा पनि लोप हुँदै जान लागेको नेपाली संस्कृति विदेशमा जोगाउने उद्देश्यले भजन साँझा कार्यक्रम आयोजना गरिएको बताए । ‘नेपालमा गाउँ–घर र शहरमा भजन–कीर्तनमार्फत हामीले आफ्नो संस्कृति जोगाएका थियौँ । तर विदेशमा त्यो सम्भव हुन सकेको थिएन । यही अभावलाई महसुस गर्दै यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने।

त्यस्तै, अर्का सहभागी सुमित थापाले नेपाली लोकसंस्कृति र भजन परम्परालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । उनले भने, ‘विस्तारै मानिसहरुको दिमागबाट हटदै जान लागेको भजन–कीर्तन संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रम आवश्यक देखिएकाले सबै मिलेर यो पहल गरेका हौँ ।’

कार्यक्रममा सहभागी अधिकांश नेपालीहरूले यस्ता आध्यात्मिक तथा सामुदायिक गतिविधिले नेपाली संस्कृति, धर्म र पहिचानलाई जीवित राख्नुका साथै आपसी सद्भाव, सहयोग र सामाजिक एकतालाई थप बलियो बनाउने प्रतिक्रिया दिएका थिए । आयोजक संस्थाका अनुसार आगामी दिनहमा बालबालिका र युवालाई लक्षित धार्मिक, सांस्कृतिक तथा चेतनामूलक कार्यक्रमह थप विस्तार गर्ने योजना बनाइरहेको छ ।

