न्युजिल्यान्डमा नेपाली संगीतप्रेमीहरूका लागि बहुप्रतीक्षित कार्यक्रम ‘नेपथ्य साँझ’ को मिति र स्थान आज औपचारिक रूपमा सार्वजनिक हुँदैछ। कार्यक्रम आयोजक संस्था लाखे इभेन्ट्स ले आज पत्रकार तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा नेपथ्यको प्रस्तुति हुने मिति र स्थानको जानकारी सार्वजनिक गर्न लागेको हो।

नेपाली लोक–रक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको चर्चित ब्यान्ड नेपथ्य को प्रत्यक्ष प्रस्तुति हेर्न न्युजिल्यान्डवासी नेपाली समुदाय लामो समयदेखि उत्साहित र प्रतीक्षारत रहेका छन्। मौलिक नेपाली संगीत, सामाजिक चेतना र सशक्त प्रस्तुतीका कारण नेपथ्यको कार्यक्रमप्रति सधैं उच्च आकर्षण रहने गरेको छ।

यसपटक नेपथ्यको प्रस्तुति अकल्यान्डमा मात्र आयोजना हुने भएकाले कार्यक्रमप्रति दर्शकको चासो र रुचि अझ बढेको आयोजकको भनाइ छ। लाखे इभेन्ट्सका प्रेमेश देवकोटा ले कार्यक्रम सार्वजनिक गर्ने तयारीबारे जानकारी दिँदै भने, “नेपथ्य नेपाली समुदायका लागि केवल ब्यान्ड मात्र होइन, भावना र पहिचान हो। अकल्यान्डमा आयोजना हुन लागेको यो साँझलाई स्मरणीय बनाउन हामीले सबै तयारी तीव्र बनाएका छौँ। आज हामी कार्यक्रमको मिति, टिकट, समय तालिका तथा अन्य व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी दिँदैछौँ।”

कार्यक्रमले न्युजिल्यान्डमा रहेका नेपालीहरूलाई एक ठाउँमा भेला गराउँदै सांस्कृतिक एकता र पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।