न्युजिल्याण्ड सरकारले यही शैक्षिक सत्रदेखि कक्षा शून्यदेखि १० सम्मका विद्यार्थीका लागि विद्यालयहरूमा नयाँ पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्न थालेको छ।
तर शिक्षा मन्त्रालयले अंग्रेजी र गणित विषयको नयाँ पाठ्यक्रम प्रारम्भिक चरणमै पूर्ण रूपमा कार्यान्वयन भइहाल्ने अपेक्षा भने नगरेको जनाएको छ। मन्त्रालयका अनुसार यो प्रक्रिया क्रमिक रूपमा अघि बढ्नेछ।
मन्त्रालयअन्तर्गत पाठ्यक्रम केन्द्रकी उपसचिव पाउलिन क्लिभरका अनुसार विद्यालयहरूलाई आफ्नै गति अनुसार नयाँ पाठ्यक्रम प्रयोग गर्न प्रोत्साहित गरिएको छ। अधिकांश विद्यालयहरूले राम्रो सुरुवात गरिसकेको र चालु वर्षभरि यसको प्रयोगको दायरा र गुणस्तर क्रमशः विस्तार हुँदै जाने मन्त्रालयको विश्वास छ।
यद्यपि अकल्याण्ड प्राइमरी प्रिन्सिपल्स एसोसिएसनले पाठ्यक्रम लागू गर्न थप समय आवश्यक रहेको प्रतिक्रिया जनाएको छ। संघकी अध्यक्ष लुसी नेलरले गहिरो र प्रभावकारी परामर्शका लागि समय अपुग भएको बताउँदै नयाँ पाठ्यक्रम पूर्ण रूपमा स्थापित हुन करिब तीन वर्ष लाग्न सक्ने उल्लेख गरिन्।
विशेषगरी एउटै कक्षामा फरक–फरक तहका विद्यार्थी रहने मिश्रित कक्षामा वर्षगत संरचनाले सिकाइ प्रक्रियालाई कठोर बनाउने चुनौती रहेको प्रधानाध्यापकहरूको भनाइ छ। तर मन्त्रालयले विद्यालयहरू यसअघि पनि यस्ता कक्षा सञ्चालनमा अनुभवी रहेकाले आवश्यक लचकता अपनाएर सिकाइ व्यवस्थापन गर्न सक्ने जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ पाठ्यक्रमले विद्यार्थीको सिकाइ क्रम स्पष्ट बनाउने, अभिभावकलाई प्रगतिबारे जानकारी गराउने र आवश्यक परे लक्षित सहयोग उपलब्ध गराउने प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।
