न्युजिल्याण्डमा घर खरिद धेरै नेपालीका लागि दीर्घकालीन लक्ष्य र सुरक्षित लगानीको रूपमा हेरिन्छ । तर घर किन्नुअघि नियम–कानुन, काउन्सिलका प्रावधान र बजार अवस्था बुझ्नु अनिवार्य हुन्छ ।
घर खरिदका लागि स्थायी बसोबास (रेसिडेन्सी) वा नागरिकता आवश्यक पर्छ । घर छनोटपछि ‘सेल एन्ड पर्चेज एग्रिमेन्ट’, बैंक ऋण स्वीकृति, कानुनी जाँच र सेटलमेन्ट प्रक्रिया पूरा गर्नुपर्छ । यस क्रममा वकिलमार्फत स्वामित्व, LIM रिपोर्ट, काउन्सिल अनुमति र भवनको अवस्था जाँच गरिन्छ ।
लोकेसन छनोट गर्दा विद्यालय, यातायात, सुरक्षा र भविष्यको विकास सम्भावना हेर्नु महत्त्वपूर्ण मानिन्छ । अक्ल्याण्ड काउन्सिलको Auckland Unitary Plan ले भवन निर्माण, मर्मत र विकाससम्बन्धी स्पष्ट नियम तोकेको छ, जसको पालना अनिवार्य हुन्छ ।
बजेट निर्धारण, ऋण क्षमता मूल्याङ्कन, हतार नगरी विकल्पहरूबारे तुलना गर्नु र अनुभवी एजेन्ट तथा ब्रोकरको सहयोग लिँदा सुरक्षित र किफायती रूपमा घर किन्न सकिने घरजग्गा कारोबारमा संलग्न व्यक्तिहरूको भनाइ छ । लामो समयदेखि यही घरजग्गा कारोबारमा रहेका सुबास श्रेष्ठको भनाइ पनि यस्तै छ । श्रेष्ठसँगको कुराकानी यस लिंकमार्फत सुन्न र हेर्न सक्नु हुनेछ ।
