अमेरिकाले भेनेजुएलाको तेल बोक्ने छ वटा पानीजहाजमा प्रतिबन्ध लगाएको छ। उसले अघिल्लो दिन मात्रै भेनेजुएलाको तटबाट एउटा विशाल तेल ट्याङ्कर कब्जा गरेको थियो।
अमेरिकाले भेनेजुएलाली तेल बोक्ने पानीजहाज मात्र नभई थप आर्थिक प्रतिबन्ध पनि लगाएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयले भनेको छ, भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका आफन्त तथा उनको अवैध सत्तासँग जोडिएका व्यापारमाथि थप आर्थिक प्रतिबन्धहरू पनि लगाइएको छ।

बीबीसीका अनुसार, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले पत्रकारहरूसँग बोल्दै ‘स्किपर’ नामक कब्जा गरिएको तेल ट्याङ्कर अवैध तेल कारोबारमा संलग्न रहेको र अब त्यसलाई अमेरिकी बन्दरगाह लगिने बताइन्। भेनेजुएलाले भने अमेरिकाको यस कार्यलाई ‘अन्तर्राष्ट्रिय डकैती’को सङ्ज्ञा दिएको छ।