विज्ञानकथामा मात्र सम्भव जस्तो लाग्ने जीन थेरपी प्रयोग गरेर, चाँडै फैलिने तथा परम्परागत विधिबाट पूर्ण रूपमा निको पार्न कठिन मानिने ब्लड क्यान्सरका केही बिरामीहरूलाई रोगमुक्त बनाउन चिकित्सकहरू सफल भएका छन् ।
उक्त प्रविधिमा बिरामीका श्वेत रक्तकोष डब्लुबीसी मा रहेका आनुवंशिक संरचना (डीएनए) लाई सूक्ष्म रूपमा सम्पादन गरिन्छ, जसका कारण ती कोषहरू क्यान्सरको प्रतिरोध गर्न सक्ने ‘जीवित औषधि’ मा रूपान्तरण हुन्छन्।
यस विधिबाट उपचार गरिएकी पहिलो बिरामीमा पनः क्यान्सर रोगको कुनै संकेत नदेखिएको चिकित्सकहरूले पुष्टि गरेका छन्। यस्तो प्रविधिबाट अहिले सम्म आठ बालबालिका र दुई वयस्कको उपचार भएको छ। चिकित्सकीय तथ्याङ्कअनुसार, उपचारमा ६४ प्रतिशत सफलता प्राप्त भएको छ, जुन जीन थेरपीको सम्भावित प्रभावकारितालाई स्पष्ट देखाउने तथ्य हो।
सामान्य अवस्थामा टी सेलहरू शरीरका सुरक्षात्मक कोषको रूपमा कार्य गर्छन्। तर लूकीमिया विकसित हुँदा यही कोष अनियन्त्रित रूपमा वृद्धि भई शरीरलाई हानि पुर्याउन थाल्छ। कीमोथेरपी वा बोन म्यारो प्रत्यारोपणले यी अवस्थाहरूमा प्रभाव नदेखाएपछि, रोगीका लागि प्रयोगात्मक उपचार नै अन्तिम विकल्प बन्ने गर्दछ।
उक्त उपचारबाट पहिलोपटक लाभ लिएकी एलिसा ट्याप्ली, उपचार अघि आफूलाई जीवनको अन्तिम अवस्थासम्म पुगेजस्तो महसुस भएको बताउँछिन्। उनका अनुसार, सामान्य जीवन जिउने क्षमता गुमाउँदै गएको अनुभूति अत्यन्त पीडादायी थियो। यसै विषयमा बीबीसमा जेम्स ग्यालहरले आफ्नो समाचारमा उनको भनाई उध्रित गदै लेखेको छ, ‘मलाई म साँच्चै मर्छु जस्तो लागेको थियो। म आफू पनि ठूली होऊँली र सबै बच्चाहरूले गर्न सक्ने कामकुरा गर्न सकूँली जस्तो पटक्कै लागेको थिएन, यो विधिबाट पहिलो पटक उपचार गरिएकी एलिसा ट्याप्ली भन्छिन्। यूकेको लेस्टरमा बस्ने यी किशोरी अहिले १६ वर्षकी भइन्।
ग्रेट ओर्मन्ड स्ट्रीट हस्पिटलमा उपचार भएपछि उनको जीवनमा कायापलट भएको छ। ट्याप्ली, क्यान्सरबारे अनुसन्धान गर्ने वैज्ञानिक बन्न चाहन्छिन्। बीबीसीले उनीबारे सन् २०२२ मा समाचार प्रकाशित गरेको थियो।
जीन थेरपी भनेको के हो?
जीन थेरपी भनेको मानव शरीरका खराब, क्षतिग्रस्त वा काम नगर्ने जीनलाई सुधार्ने, परिवर्तन गर्ने वा नयाँ जीन शरीरमा प्रवेश गराएर रोग उपचार गर्ने आधुनिक चिकित्सा प्रविधि हो।
साधारण भाषामा भन्नुपर्दा, रोग लाग्ने मूल कारण नै जीनमा समस्या भएकाले त्यही जीनलाई ठिक पारेर उपचार गर्ने प्रक्रिया जीन थेरपी हो।
जीन थेरपी कसरी काम गर्छ?
जीन थेरपीमा सामान्यतया यी उपायहरू अपनाइन्छन्—
- खराब जीनलाई हटाएर नयाँ स्वस्थ जीन हालिन्छ।
- जीनमा भएको म्युटेसन लाई ठीक गरिन्छ।
- शरीरमा भएका कोशिकालाई बाहिर निकालेर जीन सुधारेर फेरी शरीरमा राखिन्छ
जीन थेरपीका फाइदा
- रोगको मूल कारणमै उपचार
- एकपटकको थेरपीले दीर्घकालीन लाभ
- पुरानो औषधि निर्भरता कम
- असाध्यै ठानिएका रोगहरूमा आशा
जोखिम वा चुनौतीहरू
- महँगो उपचार
- शरीरमा अनपेक्षित प्रतिक्रिया
- सही कोशिकामा जीन नपुग्ने सम्भावना
- दीर्घकालीन प्रभावको अध्ययन अझै जारी
