राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक भएको जनाइएको छ। साथै मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री बनेको पनि पहिलो पटक भएको उल्लेख गरिएको छ।

काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका शाह पहिलो पटक संसद् प्रवेशसँगै प्रधानमन्त्री बनेका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

शपथ ग्रहणअघि सात जना ब्राह्मणले शंखनाद गरेका थिए भने १०८ बटुकहरूले स्वस्तिवाचन र १६ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए। त्यसपछि राष्ट्रपति पौडेलले शाहलाई औपचारिक रूपमा शपथ गराएका हुन्।

कार्यक्रममा रामसहायप्रसाद यादव, सुशीला कार्की, नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा तथा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई सहभागी थिए। त्यस्तै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि कार्यक्रममा उपस्थित थिए। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण कार्यक्रममा सहभागी हुन सकेनन् भने केपी शर्मा ओली अनुपस्थित रहे।

को–को बने मन्त्री?

यसैबीच प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌ गठन गरेका छन् । जसमा पाँच जना महिला मन्त्री समावेश छन्। प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। भने, मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयताका सुधन गुरुङ लाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।यसैबीच प्रधानमन्त्री शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्‌ गठन गरिएको छ, जसमा पाँच जना महिला मन्त्री समावेश छन्। प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयताका सुधन गुरुङ लाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, तथा विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्। खड्कराज पौडेल ले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सस्मित पोखरेल लाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम, रोजगार मन्त्री तथा सोविता गौतम कानुन मन्त्री बनेका छन्। त्यस्तै गीता चौधरी लाई कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालय तथा सीता वादी लाई महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ।