नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता पुनः आयोजना गरिएको छ । नेपाल जिम्न्यास्टिक संघको आयोजनामा १४औं राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता शुक्रबारदेखि भक्तपुरको जगातीस्थित लिवालीमा सुरु भएको हो ।

यसअघि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको १३औं संस्करण २०६१ सालमा पोखरामा सम्पन्न भएको थियो । दुई दशकभन्दा बढी समयपछि पुनः प्रतियोगिता आयोजना हुँदा खेलाडी र सम्बन्धित निकायमा उत्साह देखिएको छ । प्रतियोगिताको पहिलो दिन ‘कम्पिटिसन वान’ अन्तर्गत टिम इभेन्ट (भल्ट र फ्लोर एक्सरसाइज) का प्रतिस्पर्धा भएका छन् । पुरुषतर्फ भल्टमा नेपाल आर्मी, बागमती प्रदेश र एपिएफ क्लब सहभागी छन्, जहाँ आर्मीले ३७.८ तथा बागमती प्रदेशले ३६.७ स्कोर प्राप्त गरेको छ । प्रत्येक टिममा ६ जना खेलाडी समावेश छन् । हाल महिला फ्लोर एक्सरसाइजका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् ।

प्रतियोगितामा व्यक्तिगततर्फ भल्ट र फ्लोर एक्सरसाइजका प्रतिस्पर्धा पनि हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा करिब १ सय १४ खेलाडी सहभागी छन् । २०६१ सालमा सम्पन्न १३औं संस्करणमा टिम च्याम्पियन भक्तपुर बनेको थियो भने अलराउन्डरतर्फ पूण्यराम घेम्सु च्याम्पियन र श्रीप्रसाद कोजु उपविजेता भएका थिए । उपविजेता कोजु यसपटक प्रतियोगिताका आयोजक सदस्यसमेत रहेका छन् ।

दुई दिने प्रतियोगिताको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम, नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान र उपाध्यक्ष राजकुमार कार्कीलगायतले गरेका थिए । उद्घाटन समारोहमा मन्त्री गौतमले जिम्न्यास्टिक खेलमा उच्च फोकस र एकाग्रता आवश्यक पर्ने भएकाले यसको विशेष महत्व रहेको बताइन् । जिम्न्यास्टिकले अध्ययन, जीवनशैली र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

उनले पछिल्ला समय देशमा देखिएका नकारात्मक अवस्थाका कारण मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै खेलकुदले मस्तिष्कलाई सकारात्मक बनाउन र आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । टिम भावना, सहकार्य र अनुशासनजस्ता सीप खेलकुदबाट नै सिक्न सकिने उनको धारणा छ ।

आयोजक संघका सदस्य तथा अघिल्लो संस्करणका उपविजेता श्रीप्रसाद कोजुका अनुसार प्रतियोगितामा सातै प्रदेशसहित नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफ क्लबका करिब १ सय २० खेलाडी सहभागी छन् । संघका अध्यक्ष प्रधानले लामो समयपछि राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा विभागीय र प्रदेशस्तरीय खेलाडीहरू उत्साहित देखिएको बताउँदै यसले नेपालमा जिम्न्यास्टिक खेललाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे ।

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा नेपाल जिम्न्यास्टिक संघकी उपाध्यक्ष राजकुमारी कार्कीले प्रतियोगितामा पुरुष र महिलातर्फ समान ८–८ गरी कुल १६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको जानकारी दिइन् । यस प्रतियोगिताबाट सन् २०२६ को जुनमा चीनमा हुने एसियाली आर्टिस्टिक जिम्न्यास्टिक प्रतियोगिताका लागि खेलाडी छनोट गरिने पनि उनले बताइन् ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले लामो समयपछि नेपालमा राष्ट्रिय च्याम्पियनसिप आयोजना हुँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यसले नेपालमा जिम्न्यास्टिक खेल पुनर्जीवित हुने विश्वाससमेत व्यक्त गरेका छन् । — न्युज एजेन्सी नेपाल