हङकङमा सम्पन्न गोर्खा ट्रेल ब्लेजर अन्तर्गत पुरुषतर्फ युक्रेनका अलेक्सी मेलनिक प्रथम भएका छन्। ३० किलोमिटरको ट्रेल रेस मेलनिकले ३ घण्टा २२ मिनेट १ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे।

यसैगरी हङकङ (चीन) का चे किङ यिन ले ४ घण्टा १८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हात पारे भने फ्रान्सका स्रिल गोमेज ले पनि ४ घण्टा १८ सेकेन्डमै रेस पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे।

महिलातर्फको ३० किलोमिटर रेसमा चीनकी चे क्वान ली प्रथम भइन्। उनले ४ घण्टा ३० मिनेट ४७ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण स्थान हासिल गरिन्। नेपालकी दिलु लिम्बू ले ४ घण्टा ३४ मिनेट ४० सेकेन्डमा रेस पूरा गर्दै दोस्रो स्थानमा रहिन् भने हङकङ (चीन) की हङ किउ किम्मी लेउङ ले ५ घण्टा १२ मिनेट १७ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन्।

१२ किलोमिटर दुरीको पुरुषतर्फको रेसमा नेपालका सरोज लिम्बू प्रथम भए। उनले ५० मिनेट २ सेकेन्डमा दुरी पार गरे। बेलायतका रेयान ह्वेलेम ले ५८ मिनेट २९ सेकेन्डमा रेस पूरा गर्दै दोस्रो भए भने नेपालकै यामनाथ लिम्बू ले ५८ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे।

महिलातर्फको १२ किलोमिटर रेसमा नेपालकी पुष्पा शेर्मा लिम्बू ले १ घण्टा २ मिनेट २४ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन्। नेपालकै पदमकुमारी सुनुवार ले १ घण्टा ९ मिनेट २ सेकेन्डमा दोस्रो स्थान प्राप्त गरिन् भने बेलायतकी एलिना विल्सन ले १ घण्टा १७ मिनेट १० सेकेन्डमा तेस्रो स्थानमा रहिन्।

आयोजक समितिका संयोजक आमोद राई का अनुसार प्रतियोगिता शनिबार हङकङको ताई पो नजिकै रहेको पात सिन लेङ कन्ट्री पार्क को ऐतिहासिक स्थल लाउसि हङ रिजर्भवायर बाट सुरु भएको थियो।

गोर्खा ट्रेल ब्लेजर च्यारिटी दौडमा फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, जर्मनी, चीन, युक्रेन, इटाली, क्यानडा लगायत विभिन्न मुलुकका सेलिब्रेटी रनरहरूको सहभागिता रहेको थियो। आयोजक समितिका प्रचार विभाग प्रमुख देवराज राई का अनुसार प्रतियोगितामा विश्वभरका २ सय ६० धावक सहभागी भएका थिए।

यस प्रतियोगिताबाट संकलित रकम बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय संस्था चाइल्ड वेल्फेयर स्किम (सीडब्लूएस) र गोर्खा सिमेट्रीज ट्रस्ट (जीसीटी) लाई प्रदान गरिँदै आएको छ।

हङकङमा दर्ता रहेको गोर्खा सिमेट्रीज ट्रस्टले प्रथम, द्वितीय तथा त्यसपछिका युद्धहरूमा वीरगति प्राप्त गरेका नेपाली (गोर्खाली) सैनिकहरूको पहिचान, खोज तथा अनुसन्धान गर्दै आएको आयोजकले जनाएको छ।