दुई खेलाडीले रातो कार्ड सामना गरेको प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम (एनआरटी) ले संकटा क्लबलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय लिगको शीर्ष स्थानका लागि अंक बराबरी गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा एनआरटीले चौथो जित निकाल्दै लिगमा आफ्नो दाबेदारी बलियो बनाएको हो । एनआरटीको जितमा कप्तान कृतिषरत्न छुन्जु र नाइजेरियन खेलाडी टिमोथी ओकेरेकेले एक–एक गोल गरे भने संकटाका वेन्डपाङ्गा विल्गोबाट आत्मघाती गोल भयो। संकटाका लागि कृष्णबहादुर आलेले एक गोल फर्काए पनि हार टार्न सकेनन्।

खेलको सुरुआतदेखि नै एनआरटीले दबाब बनाएको थियो। ११औं मिनेटमा कप्तान कृतिषरत्नले गोल गर्दै टोलीलाई अग्रता दिलाए। २४औं मिनेटमा संकटा डिफेन्डर टाय ड्यानिएल बाडारुले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्दा संकटा १० खेलाडीमा सीमित भयो। उनले यसअघि तेस्रो मिनेटमै पहेँलो कार्ड बेहोरेका थिए। तर, संकटा १० खेलाडीमा झरेपछि पनि पहिलो हाफमा एनआरटीले थप गोल गर्न सकेन।

दोस्रो हाफमा खेल रोमाञ्चक बन्यो। ५१औं मिनेटमा संकटाका डिफेन्डर वेन्डपाङ्गाले गोलकिपर टिकेन्द्रसिंह थापाले नियन्त्रणमा लिन नसकेको बल क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गरे। त्यसको पाँच मिनेटपछि सबिनकुमार लुङ्गेली मगरको कट पासमा कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे।

तर, ६७औं मिनेटमा एनआरटीका टिमोथी ओकेरेकेले गोल गर्दै अग्रता ३–१ मा पुर्‍याए। खेलको ८६औं मिनेटमा ओकेरेकेले आफूमाथि फउल भएको भन्दै गरेको विवादपछि लगातार दोस्रो पहेँलो कार्ड पाएर मैदान बाहिरिए। दुवै टोली १० खेलाडीमा सीमित भए पनि संकटा त्यसको फाइदा उठाउन असफल रह्यो।

यो जितसँगै एनआरटीले पाँच खेलबाट १२ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा मच्छिन्द्र क्लबसँग हार बेहोरेको एनआरटीले त्यसपछि लगातार चार जित निकालेको हो। संकटा भने पाँच खेलबाट एक जित, दुई बराबरी र दुई हारसहित लगातार दोस्रो पराजय भोग्न बाध्य भयो।

यसैबीच, अर्को खेलमा मिलन राईको ह्याट्रिकमा चर्च ब्वाइज युनाइटेडले नव जनजागृति युवा क्लबलाई ६–१ ले पराजित गर्‍यो। मिलनसँगै अबायोमी फाकुन्लेले दुई र एरिक बिष्टले एक गोल थपे। नव जनजागृतिका जोहान बोइरले एक गोल फर्काए पनि टोलीले लगातार चौथो हार सामना गर्‍यो। चर्च ब्वाइजले चौथो खेलमा दोस्रो जित निकाल्दै सात अंक जोडेको छ।