न्युजिल्याण्डका स्कुलहरू फरक–फरक मितिमा सुरु हुन्छन्। किन फरक–फरक मितिमा सुरु हुन्छन् भन्ने बारेमा धेरैलाई जिज्ञासा रहने गरेको छ। तर, उनीहरूले त्यसबारेमा खासै चासो देखाएको पाइँदैन। अभिभावकहरू विद्यालयले जहिले भन्यो त्यही दिन आफ्ना बालबालिका पुर्याउने गर्छन्।
यहाँका केही विद्यालयहरूले जनवरीको अन्तिम साता स्कुल खोल्छन् भने केहीले फेब्रुअरीको सुरुमा स्कुल खोल्छन्। अझ कुनै–कुनै विद्यालयले त वेटाङ्गी डे भन्दा केही दिन अघि मात्र स्कुल खोल्छन्। फेरि विद्यार्थीहरूलाई लामो विदामा पठाउँछन्।
त्यति मात्र होइन, वर्षको अन्त्यतिर आधा दिनका कक्षाहरू पनि सञ्चालन गर्छन्। विद्यार्थीहरू दिउँसै घर पठाइन्छन्। यसले अभिभावकलाई झनै अन्योल बनाउँछ। यहाँ ‘टिचर डे’ पनि हुन्छ, जुन दिन विद्यालयमा विद्यार्थीहरू नजाने र शिक्षक मात्र जाने गर्छन्।
यस विषयमा आरएनजेड डट को डट एनजेडले तयार गरेको सामग्रीको अनुवादित अंशले तपाईंहरूलाई बुझ्न सजिलो हुने छ भनेर यो सामग्री प्रस्तुत गरिएको छ।
न्युजिल्याण्डका विद्यालयहरू एउटै मितिमा किन सुरु हुँदैनन्?
अकल्याण्ड प्राइमरी प्रिन्सिपल्स एसोसिएसनकी अध्यक्ष तथा मिलफोर्ड स्कुलकी प्रधानाध्यापक लुसी नायलरका अनुसार न्युजिल्यान्डका विद्यालयहरू स्वशासित हुन्छन् र उनीहरूलाई आफ्नो पठनपाठन सुरु र समाप्त गर्ने मिति छनोट गर्न केही स्वतन्त्रता दिइएको हुन्छ। शिक्षा मन्त्रालयले वर्षको सुरुवातमा दुई हप्ताको समयावधि तोकिदिएको हुन्छ, जसअन्तर्गत विद्यालयहरूले आफूअनुकूलको सुरु मिति छनोट गर्न सक्छन्, जसले अन्त्य मितिमा पनि प्रभाव पार्छ। यस वर्ष यो समयावधि सोमबार २६ जनवरीदेखि सोमबार ९ फेब्रुअरीसम्म रहेको छ।
विद्यालय सुरु हुने मिति प्रधानाध्यापकहरूले आफ्नो विद्यालय वर्ष कसरी सुरु गर्ने भन्ने योजनामा भर पर्छ। प्रायः विद्यार्थी आउनुअघि शिक्षकहरूका लागि टोली निर्माण (टिम बिल्डिङ) तथा तालिम र सीप अभिवृद्धि कार्यक्रम राखिन्छ। स्थानीय समुदायका आवश्यकताहरू पनि यसमा महत्त्वपूर्ण भूमिका खेल्छन्, जस्तै विभिन्न स्थानमा फरक–फरक हुने स्थानीय वार्षिकोत्सव दिवसहरू।
“हामी हाम्रो नजिकको इन्टरमिडिएट विद्यालयसँग तालमेल मिलाउने प्रयास गर्छौं, ताकि एउटै परिवारका फरक–फरक विद्यालयमा पढ्ने बालबालिकाको विद्यालय सुरु हुने मिति एउटै होस्,” नायलर भन्छिन्। केही विद्यालयहरू वेटाङ्गी डे पर्ने छोटो हप्तामै कक्षा सुरु गर्छन्, ताकि शिक्षक अन्तर्वार्ता र अभिमुखीकरण (ओरिएन्टेसन) सकियोस् र बालबालिकाले सजिलै विद्यालय जीवनमा फर्कन सकून्। अरू केही विद्यालय भने वेटाङ्गी डेपछि आउने सोमबारदेखि सिधै वर्ष सुरु गर्न रुचाउँछन्।
न्युजिल्याण्ड प्रिन्सिपल्स फेडेरेसनका अध्यक्ष जेसन माइल्सका अनुसार ती दुई हप्ताको अवधिभित्र केही माध्यमिक विद्यालयहरूले कक्षा अनुसार फरक–फरक दिन विद्यार्थी बोलाउने व्यवस्था पनि गर्छन्। “हामीकहाँका केही हाई स्कूलमा पहिलो दिन कक्षा १३ का विद्यार्थी नेताहरू कक्षा ९ का नयाँ विद्यार्थीहरूसँग हुन्छन् र त्यो दिन अभिमुखीकरणका लागि छुट्याइन्छ,” माइल्स भन्छन्।
“उनीहरूले विद्यालयको नियम, प्रणाली र वातावरणबारे सिक्ने गतिविधि गर्छन्, ताकि भोलिपल्ट सबै विद्यार्थी आउँदा कक्षा ९ का विद्यार्थी सहज महसुस गर्न सकून्।”
विद्यालय वर्षको सुरुआत र अन्त्य विद्यालयले आफैं तय गरे पनि पहिलो त्रैमासको अन्त्य, दोस्रो र तेस्रो त्रैमासको सुरु र अन्त्य तथा चौथो त्रैमासको सुरुआत भने शिक्षा मन्त्रालयले तोकिदिन्छ। सरकारी विद्यालयसरह राज्यद्वारा एकीकृत विद्यालयहरूले पनि सोही तालिका पालना गर्नुपर्छ। केही निजी विद्यालयहरू पनि यही तालिकामा बाँधिएका हुन्छन् भने केही निजी विद्यालयहरूले आफ्नै स्वतन्त्र तालिका अपनाएका हुन्छन्।
विद्यालयको अन्तिम दिन कसरी निर्धारण हुन्छ?
स्पेक्ट्रम एजुकेसनकी शिक्षा परामर्शदाता करेन तुई बोयसका अनुसार प्रत्येक विद्यालयले वर्षमा तोकिएको संख्याका ‘आधा–दिवस’ (हाफ डे) पठनपाठन पूरा गर्नैपर्छ। अभिभावकले बिहान ९ बजेदेखि करिब ३ बजेसम्मको समयलाई सामान्य विद्यालय दिन ठान्छन्, तर शिक्षा क्षेत्रको दृष्टिकोणमा त्यो वास्तवमा दुई वटा आधा–दिवस बराबर हुन्छ।
“आधा–दिवसको यो प्रणाली दशकौँदेखि चल्दै आएको हो, जब विद्यालय दिनको समय फरक–फरक हुन्थ्यो र यातायात, कृषि क्यालेन्डर तथा स्थानीय परिस्थितिले ठूलो भूमिका खेल्थ्यो,” बोयस भन्छिन्। “त्यतिबेला बाली काट्ने, गाईबस्तु स्याहार्ने जस्ता कामका कारण बालबालिकाले खेतबारीमा काम गर्नुपर्ने हुन्थ्यो, त्यसैले यस्तो लचिलो व्यवस्था गरिएको थियो।”
यस वर्ष सरकारले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरूलाई थप ‘टिचर–ओन्ली डे’ दिन मिलोस् भनेर विद्यालयलाई सामान्यभन्दा कम आधा–दिवस पठनपाठनको अनुमति दिएको छ। प्राथमिक, इन्टरमिडिएट र विशेष विद्यालयका लागि ३७८ आधा–दिवस र सन् २०२६ का लागि माध्यमिक विद्यालयका लागि ३७६ आधा–दिवस तोकिएको छ।
त्यसैले विद्यालयले वर्ष समाप्त गर्नु अघि यी सबै आधा–दिवस पठनपाठन पूरा गर्नुपर्छ। कति वटा अतिरिक्त शिक्षक–मात्र दिन राखिन्छन् र इस्टर तथा एनज्याक डे जस्ता सार्वजनिक बिदा विद्यालय बिदाभित्र पर्छन् कि पर्दैनन् भन्ने कुराले विद्यालयले कति चाँडो यी तोकिएका आधा–दिवस पूरा गर्छ भन्ने निर्धारण गर्छ। बोयसका अनुसार निजी विद्यालयहरूमा शनिबार अनिवार्य खेलकुद कार्यक्रम हुने गर्छ। ती खेलकुद दिनहरूलाई पनि आधा–दिवसको रूपमा गणना गरिन्छ, जसका कारण सेप्टेम्बर/अक्टोबरको बिदा र गर्मी बिदा (समर होलिडे) लामो हुन सक्छ।
त्रैमासको अन्त्यमा आधा–दिवस किन हुन्छ?
धेरै विद्यालयहरूले त्रैमासको अन्तिम दिन बालबालिकालाई छिट्टै घर पठाउँछन्। तर यहाँ एउटा प्राविधिक व्यवस्था लागू हुन्छ। विद्यार्थी दोस्रो आधा–दिवसको सुरुवातमा उपस्थित भए भने त्यो दिनलाई दुई आधा–दिवसको रूपमा गणना गरिन्छ। त्यसैले यदि बालबालिका मध्यान्ह वा दिउँसो १ बजेतिर घर गए पनि त्यो दिन दुई आधा–दिवसकै रूपमा मानिन्छ।
“बालबालिका त्यतिबेला सिकाइको हिसाबले थाकिसकेका हुन्छन्, त्यसैले सबैलाई बिदा सुरु हुने समय आएको महसुस हुन्छ,” जेसन माइल्स भन्छन्। उनले विद्यालयहरूले परिवारको बालहेरचाह आवश्यकतालाई पनि ध्यानमा राख्ने भए पनि त्यो मात्र एक्लो कारण नभएको स्पष्ट पारेका छन्।
यसरी हेर्दा न्युजिल्याण्डको विद्यालय पात्रो अनियमित जस्तो देखिए पनि त्यसको पछाडि शिक्षा नीति, ऐतिहासिक अभ्यास र समुदायको आवश्यकता जोडिएको छ। अभिभावकहरूका लागि कहिलेकाहीँ असजिलो भए पनि, यो प्रणालीले विद्यालयलाई लचिलो र व्यवहारिक बनाउन भूमिका खेलेको विज्ञहरूको निष्कर्ष छ। Photo: from nzherald.co.nz
