नेपालदेखि विश्वमञ्चसम्म व्यापक लोकप्रियता कमाएको चर्चित नेपाली ब्याण्ड नेपथ्यले न्युजिल्याण्डमा पनि छिट्टै आफ्नो प्रस्तुति दिने भएको छ। उनीहरूले करिब नौ वर्षपछि अकल्याण्डमा पुनः कन्सर्ट गर्न लागेका हुन्।
न्युजिल्याण्डमा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै छोटो समयमै लोकप्रियता कमाएको लाखे इभेन्ट्सको आयोजनामा नेपथ्यले यहाँ आफ्नो प्रस्तुति दिन लागेको हो।
नेपथ्यको कन्सर्ट नेपालमा मात्र होइन, अमेरिका, अष्ट्रेलिया, युरोप र मध्यपूर्वलगायत विश्वभर रहेका नेपाली समुदायबीच अत्यन्त लोकप्रिय रहँदै आएको छ। जहाँ–जहाँ नेपथ्यले प्रस्तुति दिएको छ, त्यहाँ ठूलो संख्यामा दर्शकको सहभागिता रहने गरेको छ। उनीहरूको प्रस्तुति हेर्न मानिसहरू टाढाटाढाबाट आउने गर्छन् र आयोजकलाई टिकट उपलब्ध गराउनै गाह्रो हुने अवस्था समेत आउने गरेको छ।
लाखे इभेन्ट्सका प्रमेश देवकोटाका अनुसार छिट्टै अकल्याण्डमा आयोजना गर्न लागिएको नेपथ्य कन्सर्ट ऐतिहासिक हुने अपेक्षा गरिएको छ। बहुसंख्यक न्युजिल्याण्डवासीहरूको माग र आग्रहलाई मध्यनजर गर्दै नेपथ्यलाई न्युजिल्याण्ड ल्याउन लागिएको जानकारी दिँदै उनले हिमालपारिसँग भने, “यो कार्यक्रम अत्यन्तै भव्य र सभ्यताका साथ आयोजना गर्नेछौं।”
कार्यक्रमको स्थान र मिति आगामी फेब्रुअरी १ मा सार्वजनिक गरिने जनाउँदै उनले भने, “करिब चार हजार दर्शक अटाउन सक्ने हलमा कार्यक्रम आयोजना गरिनेछ। मिति सार्वजनिक भएलगत्तै टिकट बुकिङ पनि खुला गरिनेछ।”
नेपथ्यको कन्सर्ट संगीत मात्र नभई आफ्नोपन, स्मृति र सांस्कृतिक पहिचानसँग जोडिने अवसरका रूपमा लिइन्छ। त्यसैले पनि यसपटकको कन्सर्टमा उल्लेख्य दर्शक उपस्थिति रहने देवकोटाको अपेक्षा छ। उनका अनुसार नेपथ्यका गीतले प्रवासी नेपालीलाई गाउँ–घर, आफन्त र मातृभूमिसँग जोड्छ। अमृत गुरुङको शक्तिशाली आवाज र मौलिक लोक–रक फ्युजनले दर्शकलाई उभिएर गाउन बाध्य बनाउँछ।
नेपथ्यका गीत नसुन्ने नेपाली सायदै भेटिएलान्। ‘रेशमदेखि भेडाको ऊन जस्तो’, ‘जोमसोमै बजारमा’, ‘तालको पानी’, ‘उडायो रेलैले’, ‘जोगाले हुन्छ भेट’, ‘छेक्यो छेक्यो’, ‘चरी मर्यो सिसैको गोलीले’, ‘यानी माया’, ‘यो जिन्दगानी’ जस्ता गीतहरू नेपाली जनजीवनसँग गहिरोसँग गाँसिएका छन्।
यी गीतहरू केवल सुन्ने मात्र नभई हरेक नेपालीको मुखमा झुण्डिएको, मनमा बसेको र भावनामा बगेको संगीत बनेका छन्। गाउँदेखि सहरसम्म, देशभित्रदेखि विदेशसम्म जहाँ नेपाली छन्, त्यहाँ नेपथ्यका गीतहरू गुन्जिने गरेका छन्।
लामो समयपछि प्रत्यक्ष रूपमा यी लोकप्रिय गीतहरू सुन्न र गाउन पाउने अवसर भएकाले यस कन्सर्टलाई धेरैले छुटाउनै नहुने र जीवनभर नबिर्सिने क्षणका रूपमा लिने अपेक्षा आयोजकको छ।
यसअघि नेपथ्यले सन् २०१७ जुलाईमा अकल्याण्डमा प्रस्तुति दिएको थियो, जसले ठूलो दर्शक सहभागिता र सकारात्मक प्रतिक्रिया पाएको थियो।
