राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरमा आफू मेयर हुँदा विदेशी चलखेल तथा हस्तक्षेप भएको खुलाएका छन्।

राजधानीको मेयर पद प्रधानमन्त्रीभन्दा कम हैसियत नहुने भन्दै शाहले यस्तो दाबी गर्नुभएको हो। झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका शाहले सोमबार बिहान झापाको दमकमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय समुदायको चलखेल महानगरमा धेरै भएको उल्लेख गर्नुभयो।

अन्तर्राष्ट्रिय चलखेलको विषयमा एक मतदाताले प्रश्न सोध्दा उहाँले त्यो आफूले भोगेको अनुभव भएको बताउनुभयो। तर कसरी र कसले चलखेल गर्‍यो भन्ने विषयमा खुलासा गर्नु भएन।

“काठमाडौँ महानगरमा अन्तर्राष्ट्रिय चलखेल कति भएको थियो, त्यो तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न,” शाहले भन्नुभयो। उहाँले फोहोर व्यवस्थापनसमेत अन्तर्राष्ट्रिय चलखेलको प्रभावमा रहेको दाबी गर्नुभयो।

फोहोर व्यवस्थापनको विषयमा धेरै हस्तक्षेप भएको र त्यो समयको विषयमा धेरैलाई जानकारी भएको शाहको भनाइ छ। पछिल्लो समयमा अन्तर्राष्ट्रिय चलखेल बढेको र यो निर्वाचनमा पनि त्यसको प्रभाव देखिएको भन्दै मतदाताले गुनासो गर्न थालेका छन्।

रास्वपाले आफ्ना वरिष्ठ नेता शाहलाई आगामी निर्वाचनपछिको प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ।