काठमाडौं — नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्ति पार्टीको मूल्य–मान्यताविपरीत भएको ठहर गर्दै औपचारिक रूपमा सच्याएको छ।
शुक्रबार करिब ६ घण्टा लामो सचिवालय बैठकपछि एमालेले नेपाली सेना, प्रहरी, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय निकायसँग पार्टीको सम्बन्ध पूर्ववत् र मित्रवत् रहेको स्पष्ट पारेको हो। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बादलको अभिव्यक्तिलाई ‘करेक्सन’ गरिएको जनाएका छन्।
बैठकमा अधिकांश नेताले बादलको अभिव्यक्ति अनुचित भएको निष्कर्ष निकाल्दै पार्टी नीतिअनुसार स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए। साथै, संसदीय दलको नेता चयन प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक रहेको र कुनै हस्तक्षेप नभएको एमालेले जनाएको छ।
एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति भने आपत्ति जनाउँदै फिर्ता लिन आग्रह गरेको छ।
