काठमाडौं — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसहित चार महत्वपूर्ण निर्णय गरेको हो।
प्रधानमन्त्रीमा नियुक्त भएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले विशेषगरी भदौ २३ र २४ गते भएका घटनाको छानबिन प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकता दिएको छ। उक्त घटनासँग सम्बन्धित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।
बैठकले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ। साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई नेपाल सरकारको प्रवक्ताका रूपमा तोक्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूची स्वीकृत गर्ने निर्णय भएको छ, जसलाई भोलिसम्म सार्वजनिक गरिने जनाइएको छ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसम्बन्धी निर्णयअनुसार सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा थप अध्ययनका लागि समिति गठन गरिनेछ र सो समितिको सिफारिसका आधारमा आवश्यक कदम चालिनेछ। अन्य विषयहरूमा भने आयोगले सिफारिस गरेका बुँदाहरू तत्काल कार्यान्वयन गरिने निर्णय गरिएको छ।
