प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि देशभर एकैसाथ मतदान सुरु भएको छ। निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले सुरु भएको जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै जिल्लाबाट मतदान निर्वाध रूपमा अघि बढिरहेको खबर प्राप्त भएको छ। मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ। आयोगले मतदाता परिचयपत्र नभएका मतदाताले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरेको जनाएको छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै अपाङ्गता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकताका आधारमा लाइनबिना मतदान गर्ने सुविधा प्रदान गरिएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र कायम गरिएको छ। तीमध्ये ३ हजार ६८० मतदान केन्द्र अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ। साथै १४३ अस्थायी मतदान स्थल पनि निर्धारण गरिएको छ।

निर्वाचन सुरक्षालाई उच्च प्राथमिकता दिँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। यसका अतिरिक्त करिब २ लाख १५ हजार सरकारी कर्मचारी मतदान कार्यमा परिचालित छन्।

यस पटकको निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आयोगले विशेष तयारी गरेको जनाएको छ। मतगणना प्रक्रिया मतदान सकिएपछि सम्बन्धित स्थानमै सुरु गरिनेछ। देशको भावी राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको यस निर्वाचनप्रति सर्वसाधारणको उत्साह उल्लेखनीय देखिएको छ।