पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई पोर्चुगलमा पनि मान्यता दिने विषयमा औपचारिक पहल सुरु गरेको छ। यससम्बन्धमा बिहीबार नेपाली दूतावासका प्रतिनिधि र पोर्चुगल सरकारअन्तर्गतको यातायात संस्थानबीच छलफल भएको हो।
पोर्चुगलको राजधानी लिस्बनस्थित यातायात संस्थानको कार्यालयमा भएको भेटवार्तामा नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख शत्रुध्वन पोखरेल र प्रथम सचिव रामबाबु नेपाल सहभागी थिए भने पोर्चुगलको सवारी चालक अनुमतिपत्र विभागका प्रमुख सुसाना पाउलिनो उपस्थित थिइन्।
भेटवार्तामा नेपाली नागरिकले नेपालमा प्राप्त गरेको सवारी चालक अनुमतिपत्रका आधारमा पोर्चुगलको लाइसेन्स प्राप्त गर्न सकिने सम्भावना र त्यसका कानुनी तथा व्यवहारिक पक्षबारे विस्तृत छलफल भएको दूतावासले जनाएको छ।
नेपाली लाइसेन्सलाई पोर्चुगलमा मान्यता दिलाउने प्रक्रिया अघि बढाउन दुवै देशका कानुनी व्यवस्था र आवश्यक तयारीबारे थप अध्ययन गर्नुपर्नेछ। यसका लागि आवश्यक कानुनी संशोधन र प्राविधिक प्रक्रियाबारे जानकारी इमेलमार्फत उपलब्ध गराइने प्रतिक्रिया पोर्चुगल पक्षबाट आएको पोखरेलले बताए।
नियोग उपप्रमुख पोखरेलका अनुसार नेपालमा स्मार्ट लाइसेन्स प्रणाली लागू भइसकेको जानकारी पोर्चुगलको यातायात विभागलाई दिइएको थियो। विभाग प्रमुख पाउलिनोले नेपालमा स्मार्ट लाइसेन्स प्रचलनमा रहेको जानकारी पाउँदा यसले प्रक्रिया सहज बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिएको पोखरेलले बताए।
दूतावासका अनुसार नेपाली लाइसेन्सलाई पोर्चुगलमा मान्यता दिलाउने प्रक्रिया अघि बढाउन दुवै देशका कानुनी व्यवस्था र आवश्यक तयारीबारे थप अध्ययन गर्नुपर्नेछ। यसका लागि आवश्यक कानुनी संशोधन र प्राविधिक प्रक्रियाबारे जानकारी इमेलमार्फत उपलब्ध गराइने प्रतिक्रिया पोर्चुगल पक्षबाट आएको पोखरेलले बताए।
यद्यपि यो प्रक्रिया तत्काल कार्यान्वयनमा जाने अवस्था नरहे पनि सकारात्मक नतिजा आउनेमा आफूहरू आशावादी रहेको दूतावासले जनाएको छ।
हाल पोर्चुगलमा भारतीय सवारी चालक अनुमतिपत्रलाई रूपान्तरण गर्ने व्यवस्था रहेको छ। दुई वर्षअघिसम्म नेपाली लाइसेन्स पनि रूपान्तरण हुने गरेकामा पछिल्लो समय सो प्रक्रिया बन्द भएको छ। यसबारे पोर्चुगलस्थित नेपाली समुदायले लामो समयदेखि आवाज उठाउँदै आएका छन्।
गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष बमबहादुर जिसीले पहिलेजस्तै नेपाली लाइसेन्सका आधारमा सहज रूपमा पोर्चुगलको लाइसेन्स प्राप्त गर्ने व्यवस्था पुनः सुरु हुने अपेक्षा व्यक्त गरे। उनका अनुसार विगतमा नेपाली लाइसेन्स भएका व्यक्तिले लिखित परीक्षा नदिई सिधै प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेपछि पोर्चुगलको लाइसेन्स पाउने व्यवस्था थियो।
पोर्चुगल सन् १९६८ को भियना सडक यातायात महासन्धिको हस्ताक्षरकर्ता राष्ट्र भए पनि नेपाल उक्त सन्धिको सदस्य राष्ट्र होइन। यही कारण नेपाली लाइसेन्सलाई स्वतः मान्यता दिने व्यवस्था नभएको हो।
तर कानुनी प्रक्रिया पूरा गरी विदेशी लाइसेन्स रूपान्तरण गर्न सकिने व्यवस्था भने रहेको छ। त्यसका लागि वैध सवारी चालक अनुमतिपत्र, राहदानी, पोर्चुगलमा बसोबासको प्रमाण, कर पहिचान नम्बर, स्वास्थ्य प्रमाणपत्र तथा प्रहरी प्रतिवेदन आवश्यक पर्नेछ। साथै पोर्चुगिज भाषाबाहेकका कागजातहरू आधिकारिक रूपमा अनुवाद र प्रमाणित गर्नुपर्ने हुन्छ।
