लिस्बन, पोर्चुगल।
वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा एक सातादेखि बेपत्ता भएका छन्।

तनहुँ जिल्ला भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे सोमबारदेखि सम्पर्कविहीन बनेका हुन्।

उनका साथी विदुर तामाङका अनुसार, पाण्डे राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट बेपत्ता भएका हुन्। “गत आइतबार राति एक साथीको फोन आएपछि उनी बाहिर निस्किएका थिए। त्यसयता सम्पर्कमा आएका छैनन्,” तामाङले जानकारी दिए।

पाण्डेले सोमबार आफ्नो कार्यस्थलमा पनि उपस्थित नभएपछि खोजी सुरु गरिएको थियो। उनीसँगै काम गर्ने साथीले खाना ल्याइदिन भनेको बताएका थिए।

पाण्डेका सामान—जस्तै रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानी र अन्य व्यक्तिगत सामग्री—सबै उनी बस्ने कोठामै भेटिएको प्रहरीले जनाएको छ।

नेपालमा उनका वृद्ध बुबाआमा र दिदीबहिनी रहेका छन्।

पोर्चुगलस्थित नेपाली राजदूतावासका राजदूत प्रकाशमणि पौडेलका अनुसार, घटना थाहा पाउनासाथ दूतावासले स्थानीय प्रहरी प्रशासनसँग सम्पर्क गरी तत्काल खोजी प्रक्रिया अघि बढाइएको छ। “दूतावासले हराइएका नेपालीको खोजीका लागि निरन्तर पहल गरिरहेको छ,” पौडेलले बताए।

जितेन्द्र पाण्डे दुई वर्षअघि क्रोएसिया हुँदै पोर्चुगल आएका थिए र हाल सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए।