हेन्ली एन्ड पार्टनर्सद्वारा सार्वजनिक गरिएको हेन्ली पासपोर्ट इन्डेक्स २०२६ (मे ग्लोबल र्‍याङ्किङ) ले नेपाली राहदानीको अन्तर्राष्ट्रिय पहुँच र साखमा थप गिरावट आएको देखाएको छ । नयाँ प्रतिवेदन अनुनेपाली राहदानीको अन्तर्राष्ट्रिय साख थप खस्कियो र नेपाल विश्वका सबैभन्दा कमजोर पासपोर्ट भएका मुलुकमध्ये सातौँ स्थानमा पुगेको छ ।

प्रतिवदेन अनुसार पहिलो नम्बरमा सिंङगापुर रहेको छ भने, दास्रोमा जापान, साउथ कोरियो, युएइ र तेस्रोमा स्वीडेन रहेको छ । न्युजिल्याण्ड सातौ नम्बारमा रहेको छ । यसैगरी प्रतिवेदनले देखाए अनुसार नेपालको राहदानीको भिसा-फ्री पहुँचमा उल्लेखनीय ह्रास आएको छ । सन् २०२५ मा नेपाली राहदानीधारकले ३९ देशमा भिसा-फ्री वा आगमनमा भिसा प्राप्त गरी यात्रा गर्न सक्ने व्यवस्था रहेकोमा सन् २०२६ को मे महिनासम्म आइपुग्दा उक्त संख्या घटेर ३५ देशमा सीमित भएको छ । यससँगै नेपाली नागरिकको अन्तर्राष्ट्रिय यात्रा स्वतन्त्रता झन् संकुचित भएको देखिन्छ ।

हेन्ली पासपोर्ट इन्डेक्सको ऐतिहासिक तथ्याङ्कले पनि नेपालको अवस्थालाई चिन्ताजनक रूपमा प्रस्तुत गरेको छ । सन् २०१६ देखि २०२५ सम्म नेपालको भिसा-फ्री स्कोर ३७ देखि ४० को दायरामा रहेको थियो । सन् २०२४ मा ४०, २०२३ मा ३८, २०२२ र २०२१ मा ३७, २०२० र २०१९ मा ३८ तथा २०१८ मा ४० रहेको स्कोर यस वर्ष घटेर ३५ मा झरेको छ । उपलब्ध तथ्याङ्कअनुसार यो नेपालका लागि हालसम्मकै न्यूनतम स्कोर हो ।

नयाँ र्‍याङ्किङमा नेपाल र उत्तर कोरिया समान अवस्थामै पुगेका छन् । गत वर्ष ४१ अंकसहित नेपालभन्दा माथि रहेको उत्तर कोरियाको भिसा-फ्री स्कोर यस वर्ष घटेर ३५ पुगेको छ । फलस्वरूप नेपाल र उत्तर कोरिया संयुक्त रूपमा ९७ औँ स्थानमा रहेका छन्, जुन तलबाट सातौँ कमजोर स्थान हो ।

यसैबीच, गत वर्ष सोही स्थानमा रहेको सोमालियाको स्कोर ३५ बाट घटेर ३२ मा पुगेको छ । यमनको स्कोर पनि ३३ बाट ३१ मा झरेको छ । यसले कमजोर राहदानी भएका मुलुकहरूको सूचीमा व्यापक परिवर्तन आएको संकेत गर्छ ।

प्रतिवेदनले नेपाल मात्र होइन, अन्य धेरै विकासोन्मुख तथा कमजोर राहदानी भएका मुलुकहरूको अवस्थासमेत खस्किएको देखाएको छ । नाइजेरिया ४६ बाट ४४ स्कोरमा झर्दै ८४ औँ स्थानबाट ९० औँ स्थानमा पुगेको छ। लोकतान्त्रिक गणतन्त्र कङ्गो र म्यानमार दुवै ४६ बाट ४३ स्कोरमा झर्दै ९१ औँ स्थानमा पुगेका छन् । इथियोपिया र लेबनान ४२ स्कोरसहित ९२ औँ स्थानमा छन् भने दक्षिण सुडान र सुडान ४१ स्कोरका साथ ९३ औँ स्थानमा रहेका छन् ।

त्यसैगरी, लिबिया र श्रीलङ्का ३९ स्कोरसहित ९४ औँ स्थानमा, इरान र प्यालेस्टाइन ३८ स्कोरसहित ९५ औँ स्थानमा सूचीकृत भएका छन् । नेपालको अर्को छिमेकी बङ्गलादेशको स्कोर पनि ४० बाट ३६ मा झरेपछि उक्त देश ९६ औँ स्थानमा पुगेको छ ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार विश्वकै सबैभन्दा कमजोर पाँच राहदानी भएका मुलुकहरूमा यमन (३१), पाकिस्तान (३०), इराक (२९), सिरिया (२६) र अफगानिस्तान (२३) रहेका छन् । यी सबै देशहरूको स्कोर गत वर्षको तुलनामा थप घटेको प्रतिवेदनले जनाएको छ ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ (मे ग्लोबल र्‍याङ्किङ)