काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले शुक्रबार दाहालसँग भेट गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको स्रोतले जनाएको छ ।

भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचनका लागि अनुकूल वातावरण निर्माण तथा प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम गर्ने विषयमा विस्तृत कुराकानी भएको बताइएको छ । सरकार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्ने तयारीमा रहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेका बेला भएका यी भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति र संवादको वातावरण निर्माण गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ । —न्युज एजेन्सी नेपाल