गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिन पुग्नुभएकी प्रधानमन्त्री शुशिला कार्कीले निर्वाचन सुरक्षामा कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएपछि उहाँ प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था अझ सुदृढ बनाउन निर्देशन दिनुभएको प्रमुख सचिव घिमिरेले जानकारी दिनुभयो। उहाँले सम्बन्धित सबै निकायलाई जिम्मेवारीपूर्वक तयारीमा जुट्न र आपसी सहकार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो। “प्रदेशमा निर्वाचनलाई ध्यानमा राख्दै हालसम्म भएका तयारी र बाँकी कामबारे जानकारी गरायौँ,” प्रमुख सचिव घिमिरेले भन्नुभयो, “प्रधानमन्त्रीले व्यवस्थित र चुस्त रूपमा चुनावी तयारी अघि बढाउन स्पष्ट निर्देशन दिनुभएको छ।”
प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाअन्तर्गत १८ निर्वाचन क्षेत्रमा चुनावी तयारी तीव्र गतिमा अघि बढाइएको छ। मतदाता नामावली अद्यावधिक, मतदान केन्द्रको व्यवस्थापन, जनशक्ति परिचालन तथा आवश्यक सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
बैठकमा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकाल तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेलगायतको उपस्थिति रहेको थियो। बैठकमा निर्वाचन तयारीको अवस्था, सुरक्षा व्यवस्थापन र आवश्यक समन्वयका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
