अमेरिकी अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले काम अनुमति पाउने उद्देश्यले दायर गरिने नक्कली एसाइलम आवेदनलाई निरुत्साहित गर्न नयाँ नियम प्रस्ताव गरेको छ। एसाइलम मुद्दा विचाराधीन रहँदा कानुनी रूपमा काम गर्न पाइने व्यवस्थाको दुरुपयोग बढेको निष्कर्ष निकाल्दै यस्तो कदम अघि बढाइएको जनाइएको छ।
अधिकारीहरूका अनुसार आप्रवासन प्रणालीमा अयोग्य तथा आधारहीन आवेदनहरूको अत्यधिक वृद्धिले गम्भीर दबाब सिर्जना गरेको छ। हाल संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) मा १४ लाखभन्दा बढी एसाइलम दाबी विचाराधीन अवस्थामा रहेका छन्। यो संख्या न्युह्याम्पशायर राज्यको कुल जनसंख्यासँग तुलना गरिएको छ। पछिल्ला वर्षहरूमा औसत प्रशोधन समय १,२०० दिनभन्दा बढी पुगेको छ, जुन सन् १९९६ मा कङ्ग्रेसले तोकेको १८० दिनको कानुनी लक्ष्यभन्दा निकै टाढा हो।
सरकारी अधिकारीहरूको दाबीअनुसार ठूलो संख्यामा आप्रवासीहरूले केवल काम अनुमति प्राप्त गर्नकै उद्देश्यले एसाइलम आवेदन दर्ता गर्ने गरेका छन्। प्रस्तावित नियमले एसाइलम आवेदन १८० दिनभन्दा बढी विचाराधीन रहँदा प्रारम्भिक सी–८ श्रेणीको नयाँ काम अनुमति स्वीकृतिमा ९० दिनसम्म रोक लगाउने व्यवस्था गर्नेछ।
यसैगरी, एसाइलम आवेदन दर्ता गरेपछि काम अनुमतिका लागि आवेदन दिनुपर्ने पर्खाइ अवधि १५० दिनबाट बढाएर ३६५ क्यालेन्डर दिन पुर्याइने प्रस्ताव छ। नयाँ काम अनुमति आवेदनमा निर्णय दिनुपर्ने समयसीमा ३० दिनबाट बढाएर १८० दिनसम्म विस्तार गरिनेछ। एसाइलमका लागि अयोग्य ठहरिएकाहरूलाई काम अनुमति नदिने स्पष्ट व्यवस्था पनि समावेश गरिएको छ।
एक वर्षको समयसीमा नाघेर ढिलो आवेदन दिने, पर्याप्त आधारबिना दाबी गर्ने वा गम्भीर आपराधिक पृष्ठभूमि भएकाहरूलाई यो नियमले प्रत्यक्ष असर पार्नेछ। साथै, प्रारम्भिक तथा नवीकरण दुवै प्रकारका काम अनुमतिका लागि बायोमेट्रिक विवरण अनिवार्य गरिने प्रस्ताव गरिएको छ, जसले सुरक्षा जाँच र धोखाधडी नियन्त्रणलाई मजबुत बनाउने लक्ष्य राखेको छ।
गृह सुरक्षा विभागका प्रवक्ताका अनुसार लामो समयदेखि आधारहीन एसाइलम दाबी काम अनुमति पाउने सजिलो माध्यम बन्दै आएको थियो। अघिल्लो प्रशासनबाट विरासतमा आएको ब्याकलग घटाउन र नियमको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्न सुधार प्रस्ताव गरिएको उनको भनाइ छ। एसाइलम प्रक्रिया जारी रहँदा स्वतः काम गर्ने अधिकार दिनु उचित नभएको पनि उनले उल्लेख गरेका छन्।
अन्तिम स्वीकृति पाएमा प्रस्तावित नियमले विचाराधीन एसाइलम आवेदनसँग सम्बन्धित काम अनुमति प्राप्त गर्ने समयसीमा र योग्यतालाई कडा बनाउनेछ। गृह सुरक्षा विभागका अनुसार यसले वास्तविक र उचित एसाइलम दाबीहरूलाई प्राथमिकता दिँदै प्रक्रिया समय छोट्याउने र प्रणालीमा पारदर्शिता तथा विश्वसनीयता पुनर्स्थापित गर्ने लक्ष्य राखेको छ।
यो प्रस्ताव पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी कार्यकारी आदेश १४१५९ “अमेरिकी जनतालाई आक्रमणविरुद्ध संरक्षण” सँग पनि सम्बन्धित रहेको बताइएको छ। संघीय अभिलेखमा नियमसम्बन्धी सूचना प्रकाशन भएपछि ६० दिनको सार्वजनिक टिप्पणी अवधि सुरु हुने जनाइएको छ।
