प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरता कायम गर्न प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा गरिनुपर्ने स्पष्ट गर्नुभएको छ ।
इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले यो सरकार चुनाव गराउनकै लागि गठन भएकाले अब कुनै दुविधा नराखी निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य परिस्थितिमा शान्ति स्थापना र निर्वाचन गराउनकै लागि सरकार बनेको हो । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अब हाम्रो मुख्य लक्ष्य चुनाव गराउने हो । चुनाव सम्पन्न भए मात्र मुलुकमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।”
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटका क्रममा पूर्वसांसद नेम्बाङले प्रधानमन्त्री कार्कीलाई निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीले नेम्बाङसँग आगामी निर्वाचनमा उम्मेदवारीको तयारीबारे जिज्ञासा राख्नुभएको थियो । जवाफमा नेम्बाङले चुनावको तयारी गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले उहाँलाई शुभकामना दिँदै अब देशको नेतृत्व युवाले सम्हाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“चुनाव हुन्छ, त्यसका लागि तयारी अवस्थामा रहनुहोस् । तपाईंहरूजस्ता युवाहरू अघि आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “पुरानाको अनुभव र सल्लाह उपयोगी हुन्छ, तर चालक सिटमा युवा नै बस्नुपर्छ । देश युवाले नै हाँक्नुपर्छ, किनकि युवामा साहस र ऊर्जा हुन्छ ।”
भेटका क्रममा पूर्वसांसद नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । जवाफमा प्रधानमन्त्री कार्कीले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले हालै स्थलगत अवलोकन गरी फर्किएको र सरकार यस विषयमा गम्भीर रहेको जानकारी दिनुभयो ।
