झापा क्षेत्र नं. ५ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वाधिक चर्चामा रहेको यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै नेताले एकैदिनबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिने भएपछि प्रशासनले विशेष सतर्कता अपनाएको हो।

एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीका अनुसार अध्यक्ष ओली सोमबारदेखि दमक नगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रममा सहभागी हुनुहुनेछ। यसअघि कमल, गौरादह र गौरीगन्ज पालिकामा करिब एक सातासम्म कार्यक्रम सम्पन्न गरी काठमाडौं फर्कनुभएको ओली पुनः झापा आएपछि मतदाता तथा कार्यकर्ताका गुनासा प्रत्यक्ष सुन्ने र स्थानीय मुद्दामा संवाद गर्ने योजना बनाइएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पनि दमक केन्द्रित घरदैलो कार्यक्रममा सहभागी हुन आउने तयारीमा रहेको रास्वपाका नेता भेषराज भट्टराईले जानकारी दिनुभयो। कार्यक्रमको विस्तृत कार्यतालिका तय गर्ने काम भइरहेको उहाँको भनाइ छ। यसअघि पनि ओली झापा आएका बेला साहले दुई दिनसम्म घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

दुवै शीर्ष नेताको प्रत्यक्ष प्रतिस्पर्धाले झापा–५ लाई राष्ट्रिय चासोको केन्द्र बनाएको छ। उम्मेदवारी मनोनयनका दिन समर्थकबीच सामान्य विवाद भएको घटनापछि स्थानीय प्रशासनले सुरक्षा निगरानी बढाएको हो। सम्भावित अप्रिय घटना रोक्न दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार र मतदाताको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ। चुनावी गतिविधि शान्तिपूर्ण र मर्यादित ढंगले सञ्चालन होस् भन्ने उद्देश्यले सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो।

झापा–५ को चुनाव यसपटक प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। शीर्ष नेताबीचको प्रत्यक्ष भिडन्तले चुनावी माहोल थप तातेको छ। आगामी दिनमा घरदैलो, आमसभा र सार्वजनिक भेटघाट कार्यक्रमसँगै यहाँको राजनीतिक गतिविधि अझ तीव्र हुने अनुमान गरिएको छ।