अकल्याण्ड। नेपाली गायक सुजन चापागाईं आफ्नो बहुप्रतीक्षित सांगीतिक प्रस्तुतिका लागि न्युजिल्याण्ड आइपुगेका छन्। गीतकार तथा गायक चापागाईंले सोमबार साँझ ६ बजे अकल्याण्ड र बुधबार साँझ क्राइष्टचर्चमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
चापागाईंसँगै उनको चर्चित द इन्फिनिटी ब्यान्ड (The Infinity Band) ले पनि प्रस्तुति दिनेछ। अकल्याण्डको स्टुडियो द भेन्यु (Studio The Venue) मा आयोजना हुने कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरू ‘फूलथुङ्गा’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘कुरा’, ‘लजाएर’ लगायत दर्शकमाझ लोकप्रिय बनेका अन्य गीतहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना लाखे इभेन्ट्स (Lakhe Events) ले गरेको हो। आयोजकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र दर्शकको उत्साहजनक सहभागिताको अपेक्षा गरिएको छ। विशेषगरी अकल्याण्ड कार्यक्रममा नर्थ आइल्याण्डका विभिन्न सहरबाट नेपाली समुदायको उल्लेख्य उपस्थिति रहने विश्वास आयोजकको छ।
यस्तै, बुधबार क्राइष्टचर्चमा आयोजना हुने कार्यक्रममा पनि दक्षिण टापुमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अनुमान गरिएको छ। आयोजकले कार्यक्रममा समयमै उपस्थित भई नेपाली संगीतको अविस्मरणीय साँझको आनन्द लिन सबैलाई आग्रह गरेको छ।
पछिल्ला केही वर्षयता सुजन चापागाईं नेपाली संगीत क्षेत्रमा सबैभन्दा लोकप्रिय गायकमध्ये एकका रूपमा स्थापित भएका छन्। उनका मौलिक शब्द, सुमधुर स्वर र जीवन्त सांगीतिक प्रस्तुतिका कारण नेपालसँगै विदेशमा रहेका नेपालीमाझ पनि उनको विशेष लोकप्रियता रहेको छ।
