अकल्याण्ड। विद्यालय बिदालाई थप रमाइलो र शिक्षामूलक बनाउने उद्देश्यका साथ न्युजिल्याण्ड नेपाल सोसाइटी (एनजेडएनएस) ले आयोजना गरेको निःशुल्क अकल्याण्ड चिडियाखाना भ्रमण कार्यक्रममा तीन सयभन्दा बढी नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बालबालिका, अभिभावक तथा परिवारका सदस्यहरूको उल्लेख्य उपस्थितिले आइतबार बिहानदेखि करिब चार घण्टासम्म अकल्याण्ड चिडियाखाना नेपालीमय बनेको थियो। विभिन्न उमेर समूहका बालबालिकाले जिराफ, सिंह, बाघ, बाँदर, पेंगुइनलगायतका वन्यजन्तुलाई नजिकबाट अवलोकन गर्दै रमाइलो गर्नुका साथै प्रकृति र वन्यजन्तुबारे नयाँ जानकारी हासिल गरेका थिए।

यसअघि पनि सोसाइटीले आयोजना गरेको यस्तै कार्यक्रमले सकारात्मक प्रतिक्रिया पाएपछि पुनः चिडियाखाना भ्रमणको आयोजना गरिएको हो। सोसाइटीका अध्यक्ष रोशन खड्काले समुदायलाई एकै स्थानमा भेला गराउने, परिवारबीच सम्बन्ध सुदृढ बनाउने र बालबालिकालाई मनोरञ्जनसँगै सिकाइको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

उनले विद्यालय बिदालाई सिर्जनात्मक र उपयोगी बनाउन यस्ता सामुदायिक कार्यक्रमले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि परिवारमैत्री कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रममा सहभागी अभिभावकहरूले पनि यस्ता कार्यक्रमले नेपाली समुदायबीच आपसी चिनजान र सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

दुई सन्तान र श्रीमान्सहित कार्यक्रममा सहभागी स्नेहा श्रेष्ठले हिमालपारीसँग कुरा गर्दै भनिन्, “यहाँ धेरै नेपाली परिवारसँग भेट्ने अवसर मिल्यो। बालबालिकाले रमाइलो मात्र गरेनन्, नयाँ कुरा पनि सिक्ने मौका पाए। यस्तो कार्यक्रमले समुदायबीचको आत्मीयता अझ बढाउँछ।

कार्यक्रममा सहभागी विकास पोखरेलको भनाइ पनि उस्तै थियो। उनले भने, “विद्यालय बिदामा बालबालिकालाई घरबाहिर निकालेर सिकाइ र मनोरञ्जनलाई एकसाथ जोड्ने अवसरका रूपमा मैले यो कार्यक्रममा सहभागिता जनाएको हुँ। हामी आफ्नै उमेरका साथीहरूसँग आत्मीयता साट्छौँ भने बालबालिका चिडियाखानाका वन्यजन्तुसँग रमाएका छन्। यो निकै सकारात्मक कुरा हो। लामो समयदेखि भेट नभएका साथीहरूसँग पनि यस्ता अवसरले पुनः भेट गराउँछ।”

भ्रमणमा सहभागी बालबालिकाहरू पनि चिडियाखानामा उत्साहपूर्वक घुम्दै विभिन्न जनावरको अवलोकन गर्ने, तस्बिर खिच्ने तथा परिवारसँग रमाइलो समय बिताउने कार्यमा व्यस्त देखिएका थिए।