क्यानाडा सरकारले आफ्नो आप्रवासन प्रणालीलाई थप व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यसहित आगामी सन् २०२६/२०२७ का लागि नयाँ योजना सार्वजनिक गरेको छ। अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्रालयले आवास, पूर्वाधार र सामाजिक सेवामा बढ्दो चापलाई ध्यानमा राख्दै विदेशी कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको हो।

सरकारले सन् २०२५ मा ६ लाख ७३ हजार ६५० रहेको अस्थायी बासिन्दाको लक्ष्य घटाएर सन् २०२६ सम्ममा ३ लाख ८५ हजारमा सीमित गर्ने जनाएको छ। साथै, सन् २०२७ को अन्त्यसम्म कुल जनसंख्यामा अस्थायी बासिन्दाको हिस्सा ५ प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिइएको छ।

त्यसैगरी, सन् २०२६ का लागि स्थायी बासिन्दाको लक्ष्य ३ लाख ८० हजारमै कायम राखिएको छ। तर आर्थिक आप्रवासीहरूको हिस्सा भने ५९ प्रतिशतबाट बढाएर ६४ प्रतिशत पुर्‍याइनेछ, जसले दक्ष जनशक्तिलाई प्राथमिकता दिने संकेत गरेको छ।

सरकारले स्वास्थ्य सेवा, निर्माण तथा उदीयमान प्रविधि क्षेत्रका दक्ष जनशक्तिलाई भने प्राथमिकताका साथ आकर्षित गरिरहने स्पष्ट पारेको छ। क्युबेक बाहिर फ्रेन्च भाषा बोल्ने आप्रवासीहरूको संख्या बढाउने लक्ष्य पनि तय गरिएको छ, जसअनुसार सन् २०२६ सम्म ९ प्रतिशत र सन् २०२९ सम्म १२ प्रतिशत पुर्‍याउने योजना छ।

यससँगै शरणार्थी दाबी प्रक्रियालाई थप कडा, छिटो र प्रभावकारी बनाइने जनाइएको छ। सम्बन्धित मन्त्रीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै यो कदम आवश्यक भएको बताएका छन्।

क्यानाडा सरकारले आफ्नो अर्थतन्त्र अझै पनि दक्ष जनशक्तिमा निर्भर रहेको स्वीकार गर्दै वर्तमान स्रोत, पूर्वाधार र सेवामा परेको चापलाई सन्तुलनमा राख्न यस्तो नीति ल्याइएको दाबी गरेको छ।