कुवेत नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कुवेतले एक महिनाको अवधिमा २ हजार १९० विदेशी कामदारलाई देश निकाला गरेको समाचार सार्वजनिक भएको छ।

कुवेतको गृह मन्त्रालयलाई उद्धृत गर्दै प्रकाशित विभिन्न सञ्चारमाध्यमहरूले जनाएअनुसार, गत अक्टोबर १ देखि नोभेम्बर २ सम्म आवासीय कानून उल्लङ्घन गर्ने आप्रवासीहरूमाथि कारबाही गर्दै २ हजार १९० जनालाई निष्कासन गरिएको हो।

यो निर्णय गृहमन्त्री शेख थामेर अल–अलीले लिएपछि गृह मन्त्रालयका उपसचिव लेफ्टिनेन्ट जनरल शेख फैसल अल–नवाफले त्यसलाई कार्यान्वयनमा ल्याएका थिए।

यसअघि कुवेतले गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहितका अन्य मुलुकका नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्ने वा सिमित जरिवाना तिरेर आफ्नो देश फर्किन समयसीमा दिएको थियो। तर तोकिएको समयमा नफर्किएका तथा कानुनी प्रक्रिया पूरा नगरेका व्यक्तिमाथि हाल कठोर कारबाही भइरहेको मन्त्रालयले जनाएको छ।

कुवेतले हालै गैरकानुनी रूपमा बसेका कामदारविरुद्ध व्यापक धडपकड अभियान सञ्चालन गर्दै, आवासीय भिसा बिना लुकी–छिपी बसेका हजारौँ विदेशी कामदारलाई पक्राउ गरेको थियो। तर जेल क्षमताभन्दा धेरै भरिन थालेपछि तत्कालका लागि उक्त अभियान अस्थायी रूपमा स्थगित गरिएको बताइन्छ।