काठमाडौं — भदौ २३ को घटनामा अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा गृहमन्त्री सुधन गुरूङले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्।

ओलीले गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार जवाफ दिँदै मन्त्री गुरूङले जाँचबुझ आयोगको सिफारिसअनुसार कानुनबमोजिम पक्राउ पुर्जी जारी गरिएको बताएका छन्।

उनले ओलीलाई अन्य कुनै कारणले नभई कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धानका लागि पक्राउ गरिएको स्पष्ट पारेका छन्। साथै, घटनामा ओलीको संलग्नता सम्बन्धी विषय अनुसन्धानबाटै टुंगो लाग्ने उल्लेख गरेका छन्।

गुरूङले अदालतको अनुमति लिएर अनुसन्धान अघि बढाइएको र स्वास्थ्य उपचारको व्यवस्था समेत गरिएको जनाउँदै रिट खारेज गर्न माग गरेका छन्।