तेहरान – इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्व बजारमा इन्धन आपूर्तिको प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध जारी राख्ने बताएका छन्।
इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले अमेरिकासहित इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको रगतको बदला लिन प्रतिवद्धता व्यक्त गरेका छन्। सन्देश उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत सुनाइएको थियो।
मोज्तबा खामेनीलाई अघिल्लो सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधनपछि सर्वोच्च नेता नियुक्त गरिएको हो। सर्वोच्च नेता बनेपछि उनले अहिलेसम्म सार्वजनिक रूपमा कुनै कार्यक्रममा भाग लिएका छैनन् र उनको फोटो वा भिडियो पनि बाहिर आएको छैन।
सन्देशमा खामेनीले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानको रणनीतिक दबाबको साधन भएको उल्लेख गरेका छन्। उनका अनुसार उक्त क्षेत्र यस्तो स्थान हो जहाँ “शत्रु अत्यन्त कमजोर” छ।
उनले छिमेकी देशहरूलाई अमेरिकी सैन्य अड्डा सञ्चालन नगर्न चेतावनी दिएका छन्। “हामी छिमेकी देशहरूसँग सधैं सकारात्मक सम्बन्ध चाहन्छौं, तर हाम्रो देशमाथि आक्रमण गर्ने र हाम्रा नागरिकको हत्या गर्ने पक्षप्रति स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ,” उनले भने।
इरानले स्ट्रेट अफ होर्मुजमार्फत जाने तेल ट्यांकरहरूलाई निशाना बनाउने चेतावनी पनि जारी गरेको छ। यस मार्गको अवरुद्ध भएमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्ने जोखिम रहेको छ। बुधबार तेहरानले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ।
यता, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले हाल विश्व तेल बजारले इतिहासकै ठूलो आपूर्ति अवरोध सामना गरिरहेको जनाएको छ। यस समस्याको समाधानका लागि एजेन्सीले ४० करोड ब्यारेल तेल विश्वबजारमा पठाउने निर्णय गरिसकेको छ।
