काठमाडौँ। सनातन हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र आस्थाका साथ मनाउने हरिशयनी एकादशी आज देशभर विविध धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा तुलसीको मोठमा सारेर चार महिनासम्म गरिने विशेष पूजा–आराधनाको आजबाट औपचारिक शुभारम्भ हुने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज तुलसीको मोठमा सारिन्छ। आजदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी सम्म तुलसीको नियमित पूजा, दीप प्रज्वलन र आराधना गरिन्छ। सनातन वैदिक परम्परामा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार आजकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा शयन गर्ने विश्वास रहेकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। भगवान् विष्णुको शयनकालका रूपमा मानिने आगामी चार महिनालाई चतुर्मास भनिन्छ, जुन धार्मिक साधना, व्रत, दान र आध्यात्मिक अभ्यासका लागि विशेष महत्वको अवधि मानिन्छ।
एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि सबै एकादशीमा व्रत बस्न नसक्ने श्रद्धालुले चतुर्मासका आठवटा एकादशीमा व्रत बस्ने चलन रहेको छ। दैनिक कार्यव्यस्तताका कारण नियमित व्रत बस्न नसक्ने धेरै भक्तजनले भने हरिशयनी र हरिबोधिनी एकादशीमा विशेष रूपमा उपवास तथा फलाहार गर्ने गर्छन्। यस दिन चामलबाट बनेका परिकार नखाई फलफूल, रोटी, ढिँडो लगायतका सात्विक भोजन ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ।
हरिशयनी एकादशीका अवसरमा राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रद्धालुहरूले भगवान् विष्णुको विशेष पूजा, आराधना र दर्शन गरी परिवारको सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गरिरहेका छन्।
धार्मिक महत्वसँगै तुलसीको वैज्ञानिक महत्व पनि उत्तिकै रहेको छ। तुलसीले वातावरणलाई शुद्ध बनाउन, अक्सिजनको मात्रा वृद्धि गर्न तथा विभिन्न रोगविरुद्ध प्राकृतिक औषधिका रूपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा पनि पुष्टि भएको छ। आयुर्वेदमा तुलसीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण जडीबुटीका रूपमा प्रयोग गरिन्छ। साथै तुलसी रहेको स्थानमा सकारात्मक ऊर्जा प्रवाह हुने र वातावरण स्वच्छ रहने विश्वास पनि व्यापक रूपमा रहिआएको छ।
चार महिनासम्म श्रद्धापूर्वक पूजा गरिएको तुलसीको हरिबोधिनी एकादशी का दिन भगवान् दामोदर (विष्णु) सँग वैदिक विधिअनुसार विवाह गराउने परम्परा छ। तुलसी विवाहसँगै चतुर्मास व्रत समापन गरिने तथा हवनसहित विशेष धार्मिक अनुष्ठान सम्पन्न गर्ने चलन रहेको छ।
हरिशयनी एकादशीले केवल धार्मिक आस्थालाई मात्र नभई प्रकृतिप्रतिको सम्मान, वातावरण संरक्षण, आध्यात्मिक अनुशासन र सांस्कृतिक परम्पराको निरन्तरताको सन्देश पनि बोकेको पर्वका रूपमा विशेष महत्व राख्छ।
