काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई ‘हास्यास्पद’ र ‘अर्थहीन’ बताएका छन् ।
बुधबार कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोपमा खड्कासँग ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यसबारे प्रतिक्रिया दिँदै खड्काले आफूले सक्कली लेटरहेड नै प्रयोग गरेको दाबी गरेका छन् ।
उनले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै सो विषयमा आफू सर्वोच्च अदालतमा गएको र मुद्दा विचाराधीन रहेको उल्लेख गरे । खड्काका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै आफूले कार्यवाहक सभापतिको हैसियतमा अदालतमा मुद्दा दायर गरेका थिए ।
खड्काले अवैधानिक महाधिवेशनबाट बनेको कार्यसमितिले गरेको निर्णयको आधारमा स्पष्टीकरण सोध्नुको कुनै अर्थ नरहेको जिकिर गरे । ‘यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ,’ उनले भने । त्यस्तै उनले उक्त विवादका कारण आफूले प्रतिनिधिसभा निर्वाचनमा समेत भाग नलिएको बताएका छन् ।
