काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले विस्तृत समीक्षा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीच समन्वय थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीच भएको झडप, त्यसक्रममा एक जनाको मृत्यु तथा त्यसपछि विकसित परिस्थितिबारे विस्तृत छलफल गरिएको थियो।

बैठकमा देशको समग्र सुरक्षा अवस्थाको पनि समीक्षा गरिएको थियो। परिषद्लाई दिइएको ब्रिफिङमा साउन १० गते सुनसरीमा भएको घटनापछि राजनीतिक दल, स्थानीय सरोकारवाला तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी गराइएको थियो।

परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग आवश्यक समन्वय गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गरिने उल्लेख गरिएको छ।

बैठकमा देशका विभिन्न भागमा हुनसक्ने प्राकृतिक विपद्को पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो। विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय अझ सुदृढ बनाउने निर्णय गरिएको परिषद्ले जनाएको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की तथा प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति रहेको थियो।