न्युजिल्यान्ड – सार्वजनिक अस्पतालका एक वरिष्ठ चिकित्सकले १.२७ मिलियन डलर वार्षिक बिदाको रकम बाँकी रहेको पाइएको छ भने धेरै अन्य चिकित्सकहरूलाई पनि हजारौँ डलरको बिदा भत्ता लिन नसकेको कारण बाँकी छ।

रोडियो न्युजिल्याण्ले हेल्थ एनजेडसँग सेप्टेम्बरसम्मका शीर्ष २० चिकित्सकका वार्षिक अवकाश भत्ताको विवरण मागेको थियो, तर स्वास्थ्य निकायले शीर्ष १० मात्र उपलब्ध गराउन सक्ने जानकारी दिएको छ भनेर आफ्नो समाचार बुलेटिन आरएनजेडले समाचार लेखेको छ ।

समाचारमा भनिए अनुसार उक्त १० चिकित्सकलाई कुल ६.५ मिलियन डलर वार्षिक बिदा भत्ता बाँकी रहेको छ। यसमा दोस्रो स्थानमा रहेका चिकित्सकलाई ७१५,००० डलर, र दुईजनालाई ६ लाख डलरभन्दा बढी भत्ता बाँकी छ।

हेल्थ एनजेडले आफ्ना कर्मचारीहरूलाई बाँकी रहेको अवकाश लिन प्रोत्साहन गरेको बताएको छ। यसका लागि उच्च भत्ता भएका कर्मचारीका लागि बिदा व्यवस्थापन योजना पनि बनाइन्छ। तर आलोचकहरूले भने उच्च बिदा भत्तालाई स्वास्थ्य निकायको लागि जोखिमपूर्ण दायित्व भएको र यसले चिकित्सकहरूलाई जागिर छोड्न थप कारण दिन सक्ने बताएका छन्।

चिकित्सक संघको दृष्टिकोण

वरिष्ठ चिकित्सक संघकी कार्यकारी निर्देशक सारा डाल्टनले शीर्ष भत्ता राख्ने चिकित्सकको नाम थाहा नभए पनि, लामो समयदेखि भत्ता जम्मा भएको हुन सक्ने बताइन्।

उहाँका अनुसार चिकित्सकहरूले दैनिक कामका कारण अवकाश लिन कठिनाइ भोगिरहेका छन्, विशेष गरी सानो वा बढी व्यस्त सेवामा। स्वास्थ्य प्रणालीमा कर्मचारी कमी हुँदा स्थिति अझ जटिल बन्दै गएको छ।

स्वास्थ्य प्रणाली विज्ञ प्रोफेसर रोबिन गौल्डले पनि सहमति जनाउँदै भने, “जब तपाईं निकै समर्पित चिकित्सक हुनुहुन्छ र सेवा सञ्चालन सुनिश्चित गर्नु पर्छ, त्यस्तो अवस्थामा दुई हप्ताको अवकाश लिन गाह्रो हुन्छ।”