न्युजिल्याण्ड बासोबासका लागि विश्वकै उत्कृष्ट देशहरूमध्ये अग्रपंक्तिमा गनिन्छ । स्वच्छ वातावरण, समशीतोष्ण हावापानी, हरियाली वनजंगल, सुरक्षित अनि सभ्य समाज तथा बहुसांस्कृतिक समुदाय यहाँको मुख्य पहिचान हुन् । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तरका हिसाबले न्युजिल्याण्ड विश्वमै अग्रणी मुलुकमा पर्छ । यहाँ नागरिकले निःशुल्क स्वास्थ्य सेवा र शिक्षा पाउने व्यवस्था छ, जुन मानिसको जीवनका आधारभूत आवश्यकता हुन् ।
स्वास्थ्य, शिक्षा र सूचनाको विकासले नै कुनै पनि देशलाई विश्वको अग्रपंक्तिमा पुर्याउँछ भन्ने मान्यतालाई न्युजिल्याण्डले व्यवहारमै प्रमाणित गरेको छ । भौगोलिक बनावटका कारण कतिपय ग्रामीण क्षेत्रमा सञ्चार पहुँचमा केही चुनौती देखिए पनि ती समस्या न्यूनीकरण गर्न सरकार तथा सरकारको सहयोगमा गैरसरकारी संस्थाहरू सक्रिय रूपमा खटिएका छन् ।
न्युजिल्याण्डको प्रमुख आम्दानीको स्रोत कृषि र पर्यटन हो । त्यसैले सरकारले अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन विशेष प्राथमिकता दिँदै आएको छ । यहाँको प्राकृतिक सुन्दरताले पछिल्लो समय विश्वभरका मानिसको ध्यान आकर्षित गरेको छ, जसका कारण न्युजिल्याण्ड “आउनैपर्ने देश” को सूचीमा स्थापित हुँदै गएको छ । अध्ययन, भ्रमण वा अन्य बहानामा यहाँ आउने धेरै विदेशी नागरिक सकेसम्म यतै बसोबास गर्ने उपाय खोजिरहेका देखिन्छन् । न्युजिल्याण्डलाई आधार बनाएर अष्ट्रेलिया जाने ‘स्टेपिङ स्टोन’ का रूपमा लिने प्रवृत्ति पनि देखिन्छ, जसमा नेपालसहित एसियाली मुलुकका नागरिकको संख्या उल्लेख्य छ ।
नेपालकै सन्दर्भमा हेर्दा पछिल्लो समय न्युजिल्याण्ड आउन चाहने नेपालीको संख्या तीव्र रूपमा बढेको छ । सुरक्षा, स्थायित्व, सुन्दर वातावरण र सुधारिएको जीवनस्तरका कारण “जसरी भए पनि न्युजिल्याण्ड छिर्न पाए हुन्थ्यो” भन्ने सोच धेरैमा देखिन्छ ।
तर यति धेरै विशेषता र आकर्षण हुँदाहुँदै पनि न्युजिल्याण्ड अहिले गम्भीर आन्तरिक समस्यासँग जुधिरहेको छ । त्यो समस्या हो—घरविहीनता ९होमलेसनेस० अर्थात् घर र स्थायी रोजगारीविहीन मानिसको बढ्दो संख्या । घरविहीन नागरिकको संख्या दिनप्रतिदिन बढ्दै जानु सरकार र स्थानीय निकायका लागि गम्भीर चुनौती बन्दै गएको छ ।
सबैभन्दा बढी पर्यटक आउने र देशकै प्रमुख सहर अकल्यान्डमा घरविहीनताको समस्या अत्यन्त जटिल बनेको छ । अकल्यान्डका धेरैजसो गल्ली, सडक किनार, ट्राफिक लाइट तथा पर्यटक आवतजावत गर्ने स्थानमा घरविहीन व्यक्तिहरूले खानाका लागि भन्दै सवारी चालक र पैदलयात्रीसँग पैसा मागिरहेको दृश्य सामान्य भइसकेको छ । रात पर्नासाथ उनीहरू सडकछेउ, ठूला भवनको छेउछाउ वा अस्थायी सेल्टरमा पातलो च्यादर ओढेर सुतिरहेको देखिन्छ । यसले काउन्सिल र सरकार दुवैलाई गहिरो चिन्तामा पारेको छ । सरकार तथा विभिन्न निकायले उपलब्ध गराएका आवासमा बसिरहेका केही व्यक्तिहरू पनि सडकमा माग्न निस्कनुले समस्या झनै जटिल बनाएको छ ।
अकल्यान्डको सडकमा सुतिरहेका व्यक्तिलाई काउन्सिलका गस्ती कर्मचारीले उठाउने प्रयास गरिरहेका दृश्यहरू अहिले सामान्य बन्दै गएका छन् । नेसनल होमलेस डाटा प्रोजेक्टले सार्वजनिक गरेको पछिल्लो छ–महिने सर्वेक्षणले अकल्यान्डमा घरविहीनको संख्या तीव्र रूपमा बढेको देखाएको छ । साल्भेसन आर्मी र कम्युनिटी हाउजिङ आओटेआरोआले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अन्तर्वार्ता लिइएका २१ संस्थामध्ये १४ संस्थाले घरविहीनताको संख्या बढेको बताएका छन् ।
प्रतिवेदनअनुसार आपतकालीन आवासका लागि गरिने आवेदन अस्वीकृत हुने दर मार्च २०२४ मा ४ प्रतिशत रहेकोमा जुन २०२५ सम्म आइपुग्दा ३६ प्रतिशत पुगेको छ । व्यक्तिले आफ्नै कारणले घरविहीन बनेको ठहर गरिनु अनुदान अस्वीकारको प्रमुख कारणमध्ये एक बनेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले सेप्टेम्बरमा निर्देशन जारी गरे पनि मिनिस्ट्री अफ सोसल डेभलपमेन्टले आपतकालीन आवास आवेदन मूल्याङ्कन गर्दा “विवेकाधिकार” लचकतापूर्वक प्रयोग गरेको स्पष्ट प्रमाण नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अकल्यान्ड जिल्ला अदालतअन्तर्गत ‘द कोर्ट अफ बिगिनिङ्स’ की संयोजक कार्मेल क्लारिजका अनुसार पछिल्लो समय अदालतमा आउने धेरै व्यक्तिहरूले उच्च आवास लागत, असुरक्षित बसोबास वातावरण र विगतमा बारम्बार आवेदन अस्वीकृत भएकाले आपतकालीन आवासका लागि आवेदन नै दिन छाडेका छन् । रेडियो न्युजिल्याण्डले उनलाई उद्धृत गर्दै जनाएअनुसार अदालतमा आउने धेरै व्यक्ति आवास सहयोगको सन्दर्भमा “सिँढीको सबैभन्दा तल” छन् । लागूपदार्थ तथा मदिरा दुर्व्यसन, गम्भीर मानसिक स्वास्थ्य समस्या र विगतका आपराधिक रेकर्डका कारण उनीहरू प्रायः सहयोगबाट वञ्चित हुँदै आएका छन् ।
पछिल्ला ६ देखि १२ महिनामा अदालतमा आउने व्यक्तिहरूमा भावनात्मक असन्तुलन र मानसिक तनाव उल्लेख्य रूपमा बढेको देखिएको छ । धेरैजसो व्यक्तिमा उपचार नगरिएको गम्भीर मानसिक समस्या, मदिरा वा लागूपदार्थको लत तथा कहिलेकाहीँ आपराधिक पृष्ठभूमि समेत जोडिएको पाइन्छ ।
यसैबीच, न्युजिल्याण्डको आवास तथा शहरी विकास मन्त्रालय (हाउजिङ एन्ड अर्बन डेभलपमेन्ट) एचयुडी ले जुन २०२५ का लागि सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल देशभर ५,००० भन्दा बढी मानिस आश्रयविहीन अवस्थामा जीवन बिताइरहेका छन् ।
देशभरका काउन्सिलबाट प्राप्त विवरणले पछिल्लो एक वर्षमा घरविहीनताको समस्या उल्लेख्य रूपमा बढेको देखाएका छन् । अकल्यान्ड काउन्सिलले मे २०२५ सम्म ८०९ जना आश्रयविहीन सेवाग्राही रहेको जनाएको छ, जुन जनवरीमा ६५३ जना मात्र थियो । यो समस्या अकल्यान्डमा मात्र सीमित नभई वेलिङ्टन, ह्यामिल्टन, टौराङ्गा, क्राइस्टचर्चलगायत अधिकांश सहरमा एकाएक बढेको छ ।
घरविहीनताको मुख्य कारणका रूपमा काइङ्गा ओरा ९सरकारी आवास संस्था० का आवास परियोजना रोकिनु, भाडा दर तीव्र रूपमा बढ्नु र किफायती आवासको अभाव देखिएको छ । साथै, कारागारबाट रिहा भएका व्यक्तिहरू पुनःसमाजमा समायोजन हुन नसकी घरविहीन बन्नु, तथा जोखिममा रहेका व्यक्तिहरूको पर्याप्त मानसिक स्वास्थ्य मूल्याङ्कन नहुनुमा काउन्सिलहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
घरविहीनता न्युजिल्याण्डले लामो समयदेखि भोग्दै आएको समस्या हो । सरकार र गैरसरकारी निकायले तथ्यांक सार्वजनिक गरे पनि आश्रयविहीन व्यक्तिहरू बारम्बार स्थान परिवर्तन गरिरहने र सरकारी सेवासँग सम्पर्क नगर्ने भएकाले यथार्थ संख्या पत्ता लगाउन कठिन रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ । तर, जे जस्तो भए पनि एचयुडीका प्रतिवेदनले दीर्घकालीन आवास समाधानका नवीन नीति, प्रभावकारी मानसिक स्वास्थ्य सहयोग तथा विभिन्न सरकारी र गैरसरकारी निकायबीच समन्वयको आवश्यकता स्पष्ट रूपमा देखाएको छ ।
