काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गर्नुभएको हो ।

सञ्चारमन्त्रीको सचिवालयका अनुसार भेट पूर्वनिर्धारित कार्यक्रमअनुसार भएको हो । यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेट्नुभएको थियो भने शुक्रबार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा भेट गर्ने कार्यतालिका रहेको छ ।

भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनका लागि अनुकूल वातावरण निर्माण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ । सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गर्ने प्रयास गरिरहेको जनाएको छ ।

छलफलका क्रममा जेन–जी आन्दोलनको छानबिन आयोगले ओलीमाथि लगाएको काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिबन्धको विषय पनि उठेको स्रोतको भनाइ छ । यसअघि सरकारको टोलीले एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने विषयमा सकारात्मक संकेत दिएको थियो ।

एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा चुनावमा भाग लिने प्रतिबद्धता जनाएको छ । सरकारले यी भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासका रूपमा लिएको उल्लेख गर्दै यसले तत्कालीन राजनीतिक तनाव कम गर्ने र निर्वाचन प्रक्रिया अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको जनाएको छ । –न्युज एजेन्सी नेपाल