न्यूजिल्याण्ड

न्यूजिल्याण्ड सरकारले सगरमाथा दिवस (२९ मे) लाई राष्ट्रिय तहमा मान्यता दिने विषयमा सकारात्मक प्रतिक्रिया दिएको छ। गैर–आवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डले नेपाली समुदायले हरेक वर्ष भव्य रूपमा मनाउँदै आएको सगरमाथा दिवसलाई आधिकारिक मान्यता दिनुपर्ने आग्रहसहित पठाएको पत्रको प्रतिउत्तरमा न्यूजिल्याण्डका जातीय समुदाय मन्त्री माननीय मार्क मिचेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

एनआरएनए न्यूजिल्याण्डका अनुसार, मन्त्री मिचेलले पठाएको पत्रमा सगरमाथा (एभरेस्ट) दिवसको विचार र यसको महत्वप्रति आभार प्रकट गर्दै भनेका छन्— “यो दिवसले सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका ऐतिहासिक उपलब्धिहरूको सम्मान गर्दछ।” उनले भने, ”न्यूजिल्याण्डमा औपचारिक रूपमा यस्ता स्मरणीय दिवसहरू मनाउने परम्परा नभए पनि, समुदायहरूले आफ्नै अर्थपूर्ण ढङ्गले यस्ता महत्वपूर्ण अवसरहरू निरन्तर मनाइराख्न प्रोत्साहित गर्नुपर्ने विश्वास सरकारको रहेको छ।”

मन्त्री मिचेलले सगरमाथा दिवसले विश्वभरका मानिसहरूलाई प्रेरणा दिने र नेपाल–न्यूजिल्याण्डबीचको मित्रतालाई झल्काउने कुरा पनि उल्लेख गरेका छन्। त्यस्तै, उनले शेर्पा समुदायको पर्वतारोहणमा दिगो योगदान तथा नाजुक हिमाली वातावरणको संरक्षणमा यसको महत्वप्रति उच्च सम्मान व्यक्त गरेको एनआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

न्यूजिल्याण्डको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनमा नेपाली समुदायले खेलेको भूमिकाको सरकारले उच्च मूल्यांकन गरेको उल्ल्ेख गर्दै जातीय समुदाय विकास कोष (Ethnic Community Development Fund – ECDF) मार्फत नेपाल–सम्बन्धी सांस्कृतिक कार्यक्रमहरूका लागि हालसम्म ४२८४,००० ९ (दुई लाख चौरासी हजार न्यूजिल्याण्ड डलर) सहयोग प्रदान गरिएको जानकारी दिएका छन्

एनआरएनए न्यूजिल्याण्डका अध्यक्ष डा. अच्युत अर्यालले मन्त्रीको पत्रले नेपाली समुदायका आगामी सांस्कृतिक कार्यक्रमहरूका लागि थप प्रेरणा र प्रोत्साहन प्रदान गरेको बताए। उनले भने “हामी मन्त्री मिचेलप्रति कृतज्ञ छौं, जसले सगरमाथा दिवसको भावना र हाम्रो समुदायको निरन्तर योगदानलाई सम्मान गर्नुभयो। सगरमाथा दिवस केवल एक सम्झना मात्र होइनस यो मित्रता, साहस र नेपाल–न्यूजिल्याण्डबीचको साझा इतिहासको उत्सव हो। हामी प्रत्येक वर्ष यस धरोहरलाई सम्मानित गर्दै दुबै देशका जनतालाई संसारको सबैभन्दा अग्लो शिखरमार्फत जोड्ने साझा सम्बन्ध मनाउनेछौं।”