काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा आयोजना हुन लागेको दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई बदलिँदो समयअनुसार पार्टीलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र दृष्टि दिनका लागि आयोजना गरिएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र समयको आवश्यकता अनुसार गरिएको कदम भएको बताएका छन्। विशेष महाधिवेशनको आह्वानपछि पार्टीभित्र तथा बाहिर उठिरहेका जिज्ञासा र आशंकालाई सम्बोधन गर्दै उनले महाधिवेशनका कारण पार्टी फुट्ने भन्ने आशंका पूर्ण रूपमा अस्वीकार गरेका छन्।

“विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन,” भन्दै शर्माले पार्टी विभाजनको अवस्था सिर्जना भए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिर निस्कने र पार्टी जोगाउन सबैसँग काँधमा काँध मिलाएर उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाधिवेशनको वैधानिकतामाथि उठाइएका प्रश्न अनावश्यक भएको उल्लेख गर्दै उनले पार्टी विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको स्मरण गराएका छन्। उनका अनुसार केन्द्रीय समितिले आवश्यक ठानेन भन्ने आधारमा विशेष महाधिवेशन रोक्न नमिल्ने स्पष्ट प्रावधान विधानमै रहेको छ।

विशेष महाधिवेशन किन अपरिहार्य भयो भन्ने सन्दर्भमा महामन्त्री शर्माले वर्तमान नेपाल भदौ २३ अघिको नेपाल नरहेको उल्लेख गरेका छन्। समय, परिस्थिति, चुनौती र जिम्मेवारीहरू बदलिएको अवस्थामा पार्टीले एउटै थलोमा उभिएर नयाँ दृष्टिकोण, कार्ययोजना र सामूहिक संकल्प तय गर्न आवश्यक रहेको उनको भनाइ छ। यही कारण विशेष परिस्थिति, विशेष निर्णय र विशेष महाधिवेशन अनिवार्य भएको शर्माले स्पष्ट पारेका छन्।